झापा, २६ मंसिर / नेपाल पत्रकार महासंघ झापा , प्रेस सेन्टर नेपाल झापा र प्रेस चौतारी झापाले समाचारको विषयलाई लिएर सञ्चारकर्मीलाई बारम्बार ज्यान मार्नेसम्मको धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको छ ।

महासंघ , प्रेस सेन्टर र प्रेस चौतारीले आज अलग–अलग विज्ञप्ती जारी गरि झापाका सञ्चारकर्मी तथा बिर्तामोड झापा डटकमका सञ्चालक टिकाराम बाँस्तोलालाई समाचारको विषयलाई लिएर बारम्बार ज्यान मार्नेसम्मको धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका छन् । पीडितका अनुसार ‘अफ्रिका पठाइदिने भन्दै लाखौँ ठगी गर्ने बिर्तामोडका गिरी पक्राउ’ शीर्षकमा प्रकाशित समाचारको बिषयलाई लिएर पक्राउ परेका अन्जेश गिरीका बुवा बिर्तामोड–४ निवासी गणेश गिरी र परिवारका अन्य सदस्यले अलग–अलग नम्बरबाट सञ्चारकर्मी बाँस्तोलालाई पटक–पटक फोन गरेर अस्लील गालीगलौजसहित ज्यानमार्ने धम्कीसम्म दिएका छन् ।

प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी उपचारमा जानसकिने विकल्प भएको र त्यसलाई लत्याएर सञ्चारकर्मीलाई धम्क्याएको यो घटना अत्यन्त निन्दनीय भएको साथै प्रेस स्वतन्त्रता र कानुन विपरीतको कार्य भएको बिज्ञप्तीमा उल्लेख छ । स्वतन्त्र पत्रकारितामाथिको यस ज्यादतीमा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन तथा पीडित सञ्चारकर्मीको सुरक्षामा विशेष ध्यान दिन महासंघ , प्रेस सेन्टर र प्रेस चौतारीले सम्बन्धि कायसँग माग गरेका छन् ।