दिव्य कृष्ण खुल्ला फुट्सल प्रतियोगिताको उपाधि एमपिसी लाई

ठोस खबर , १८ माघ / “दिव्य कृष्ण खुल्ला फुट्सल” प्रतियोगिता २०८२ को उपाधि एमपिसी फुट्सल टिम दमकले हात पारेको छ ।
झापाको कन्काई नगरपालिका ३ मा रहेको कन्काई फुट्सलको आयोजना तथा दिव्य कृष्ण फाउन्डेसनको प्रमुख प्रायोजनमा भएको दुई दिवसीय फुट्सल प्रतियोगिताको उपाधि एमपिसी फुट्सल टिम दमकले हात पारेको हो ।
प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा सासिसा फुट्सल टिम बुटाबारीलाई ५-३ गोल अन्तरले पराजित गर्दै एमपिसी फुट्सल टिमले उपाधि जितेको हो ।
प्रतियोगिताको विजेता टिम एमपिसीले नगद ५० हजार साथै ट्रफी , मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता टिम सासिसाले नगद ३० हजार साथै ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ ।
त्यसैगरी प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने खेलाडी एफवाइसी फुट्सल टिमका छिरिङ लिम्बुलाई विधागत पुरस्कार फुट्सल सुज प्रदान गरिएको छ । उनले प्रतियोगितामा ११ गोल गरेका थिए ।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी एमपिसी फुट्सल टिम दमकका खेलाडी सविन लिम्बू घोषित भए । उनलाई विधागत पुरस्कार फुट्सल सुज साथै ट्रफी प्रदान गरिएको छ ।
प्रतियोगिताका विजेता तथा उपविजेता साथै विधागत उत्कृष्ट खेलाडीहरूलाई प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि कनकाई नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष युवराज चम्लगाई , विशिष्ट अतिथि झापा गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जीवन ढकाल , प्रतियोगिताका मुख्य प्रायोजक दिव्य कृष्ण फाउण्डेसनका संरक्षक टीका पोखरेल , अतिथिहरु कनकाई भेट्रान क्लबका अध्यक्ष श्याम राई, कनकाई क्याम्पस सञ्चालन समितिका कोषाध्यक्ष नारायण पोखरेल , कनकाई नगर प्याब्सनका सचिव तथा झापामेरिगोल्ड अंग्रेजी विद्यालयका प्रिन्सिपल गोकुल उप्रेती , सामाजिक व्यक्तित्व मिलकुमार प्रधान , फुट्सल सञ्चालक तथा प्रतियोगिता आयोजक मनोरथ थापा , मोहन थापा लगायतले पुरस्कार वितरण गर्नुभएको छ ।
त्यसैगरी प्रतियोगिताका अफिसियल , व्यवस्थापकहरुलाई समेत प्रशंसापत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा नेपालका विभिन्न जिल्लाका र भारतको सिलगुडी , दार्जिलिङ समेतका गरी ३२ वटा टिमको सहभागिता रहेको थियो ।
