सिंहदेवीमा स्काउटको क्याम्प फायरिङ साथै दिक्षान्त समारोह

ठोस खबर , ३ फागुन / झापाको कनकाई नगरपालिका ४ स्थित सिंहदेवी माध्यमिक बिद्यालयमा स्काउटको क्याम्प फायरिङ साथै दिक्षान्त समारोह सम्पन्न भएको छ ।
सिंहदेवी स्काउट दलका बिद्यार्थीहरूलाई दिक्षित गर्दै बिद्यालयले आयोजना गरेको त्रिदिवसीय कार्यक्रम अन्तर्गत पहिलो दिन शुक्रबार बिद्यार्थीहरु सेल्फ कुकिङ्ग गर्नुका साथै स्काउट मास्टर नगेन्द्र सुवेदिबाट क्षमता अभिवृद्धि तालिम लिएका छन । तेस्तै दोस्रो दिन शनिवार योगा र विपी व्यायाम , ट्राफिक सचेतना , प्राथमिक उपचार , विपद व्यवस्थापन , हाईकिङ्ग , आर्चरि लगायतका अभ्यासहरुमा सहभागी भएका छन ।
सोही साझ बिद्यालयमा एक अौपचारिक कार्यक्रम गरी क्याम्प फायरिङ समेत गरिएको छ ।

क्याम्प फायरिङ संगै बिद्यार्थी हरुले विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका छन भने कार्यक्रममा उपस्थित अतिथि , अभिभावक , शिक्षक , बिद्यार्थी , कर्मचारी साथै स्थानीयले छमछमी नाचेर मनोरञ्जन गरेका छन ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि कनकाई नगरपालिकाका नगरप्रमुख तथा नगर स्काउट संरक्षक राजेन्द्रकुमार पोखरेलले कन्काईमा २०३४ सालमा स्थापना भएको स्काउट केही बर्ष पछि बन्द भएको भए पनि विगत दुई वर्ष अगाडि देखि पुनः सञ्चालन गरी अगाडि बढिरहँदा यस क्षेत्रमा राम्रोसँग स्काउटको प्रवर्धन भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले स्काउटले आफू अप्ठ्यारोमा परेको बेलामा कसरी बाँच्ने र अरुलाई कसरी बचाउने , समाजमा असल नागरिकको रूपमा कसरी आफू हुने र अरुलाई पनि हुन सिकाउने , भएका विकृति विसंगतिको विरुद्धमा कसरी लड्ने र आफू एउटा असल इमान्दार व्यक्ति बन्ने भन्ने लगायतका असल कुरा स्काउटले सिकाउने सिकाउने वताउनु भयो ।
कार्यक्रममा कनकाई नगरपालिकाको उपप्रमुख आशा शर्मा शिवाकोटी , कनकाई नगरपालिका ४ का वडा अध्यक्ष रोशन सुवेदी , वडा नम्बर ५ को वडा सदस्य इन्दिरा अधिकारी लगायतले शुभकामना मन्तव्य राख्दै विद्यालयले विद्यार्थीहरूको शारीरिक एवं मानसिक विकासको लागि गर्दै आएको अतिरिक्त क्रियाकलापको प्रशंसा गर्दै विद्यार्थीलाई अनुशासित र मर्यादित बनाउने स्काउट जस्तो कार्यक्रम विद्यालयमा राखेर क्याम्प फायर गरी विद्यार्थीलाई दीक्षित समेत गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
त्यस्तै आईतवार विहान सर्व धर्म सभा पछि सिहंदेवी स्काउट दलका ६० जना बिद्यार्थी मध्ये ३० जना बिद्यार्थीलाई दिक्षान्त समारोहबाट स्काउट सदस्यता ब्याच बितरण गरी दिक्षित गरीएको छ भने ३० जना बिद्यार्थीलाई तेस्रो स्काउट ब्याच अन्नपुर्णबाट दिक्षित गरिएको छ ।
सिंहदेवी स्काउट ट्रुफका स्काउटर रामबहादुर चौधरीको नेतृत्व तथा विद्यालयका स्काउटर भुवन कार्की , मिना सापकोटा , रेनुका घतानीले सहजीकरण गरेको त्रिदिवसीय कार्यक्रममा स्काउटका राष्ट्रिय सहायक प्रशिक्षक तथा कोशी प्रदेश सदस्य नारायण श्रेष्ठको नेतृत्वमा रहेको स्काउटर तेजुसिंह र रोभर विजय राईको टोलीले प्राविधिक टिमको कार्यसम्पन्न गरेको छ ।
कार्यक्रममा कनकाई नगरपालिका वडा नम्बर ४ र ५ का जनप्रतिनिधिहरू , स्काउटका कनकाई नगर समिति संयोजक नारायण योगी , विभिन्न विद्यालयका स्काउटका प्रशिक्षक एवं प्रतिनिधिहरू विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सदस्यहरू , विद्यालयका सल्लाहकार समितिका सदस्यहरू, शिक्षक अभिभावक सङ्घका पदाधिकारी लगायतको अतिथिता रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक तथा सिंहदेवी स्काउट दलका संरक्षक भोलानाथ ढुंगेलको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित सबैलाई स्वागत विद्यालयका शिक्षक वीरेन्द्र ओलीले गर्नुभएको थियो भने कार्यक्रमको औचित्यमाथि प्रकाश विद्यालयका स्काउट प्रशिक्षक रामबहादुर चौधरीले पार्नु भएको थियो । कार्यक्रम सञ्चालन विद्यालयका स्काउटर द्वय रेनुका घतानी र भुवन कार्कीले गर्नुभएको थियो ।
