झापा–४ मा रास्वपा उम्मेदवार सम्भुप्रसाद ढकालद्वारा ५४ बुँदे घोषणा पत्र सार्वजनिक

ठोस खबर / झापा क्षेत्र नम्बर ४ का सम्भुप्रसाद ढकाल सुस्केराले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ५४ बुँदे चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । शुक्रबार सुरुङ्गामा विशेष पत्रकार सम्मेलनको आयोजना गरी उनले औपचारिक रूपमा आफ्नो वाचा पत्र सार्वजनिक गरेका हुन् ।

झापा–४ मा पत्रकार सम्मेलनमार्फत घोषणा पत्र सार्वजनिक गर्ने उनी पहिलो उम्मेदवार बनेका छन् । अन्य क्षेत्रमा उम्मेदवारले मिडिया फेस नगरेको भन्दै आलोचना भइरहेका बेला ढकालले खुला रूपमा आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
सार्वजनिक वाचा पत्रमा उनले निर्वाचन जितेर पनि प्रतिबद्धता अनुसार काम नगर्ने उम्मेदवारमाथि ठगी मुद्दा चलाएर कारबाही गर्नुपर्ने व्यवस्था गर्न कानुन संशोधनको पहल गर्ने उल्लेख गरेका छन् । तेस्तै दुई पटकसम्म १० सिट जित्न नसक्ने वा १० लाख मत ल्याउन नसक्ने दलको दर्ता खारेज गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि घोषणा पत्रमा समावेश गरिएको छ ।
घोषणा पत्रमा निर्वाचित सांसदको सम्पत्ति छानबिन, सुशासनको प्रत्याभूति, प्रहरीलाई १६ वर्षमै पेन्सन सुविधा, द्वन्द्वपीडित प्रहरी तथा नागरिकको व्यवस्थापन, जनमैत्री प्रहरी सेवा लगायतका विषय समेटिएका छन्। त्यस्तै, जनप्रतिनिधिको मृत्यु वा राजीनामा परेमा उपनिर्वाचन नगरी उपविजेता उम्मेदवारलाई जिम्मेवारी दिने प्रस्ताव पनि अघि सारिएको छ।
लागुऔषध कारोबारमा संलग्नलाई आजीवन कारागार सजाय र माफी–मिनाहा नहुने व्यवस्था, गाउँ–गाउँमा योग अभ्यास विस्तार तथा प्रशिक्षक तयार गरी विदेश पठाउने योजना, युवालाई बिना धितो ऋण, विषादीरहित खेती प्रणाली, “पढ्दै–कमाउँदै” कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि घोषणा पत्रमा उल्लेख छ।
यसैगरी ऐलानी जग्गाको धनीपूर्जा वितरण, सुकुम्बासी समस्या समाधान, कनकाई, विरिङ र कमल नदीको स्थायी नियन्त्रण, धार्मिक तथा पर्यटकीय स्थल दोमुखा, माइधाम, कोहीहवन र जामुनखाडीको स्तरोन्नति गर्ने योजना सार्वजनिक गरिएको छ। स्थानीय मदिराको ब्रान्डिङ, हात्तीको आक्रमण नियन्त्रणका लागि विशेष पहल तथा कनकाई नदीको अधुरो पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता समेत समेटिएको छ।
कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी कनकाई नगर सभापति मोहन थापाको सञ्चालन तथा क्षेत्रीय संयोजक लीलामाया बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा झापा गाउँपालिका सभापति लक्ष्मण तिवारी, शिवसताक्षी नगर सभापति गंगाराम कडरिया लगायतको उपस्थिति रहेको थियो।
सो अवसरमा झापा गाउँपालिकाका युवा नेता तथा उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष नेपाल र नेता हरि दुलालले समेत रास्वपामा प्रवेश गरेका छन् ।
