रेडक्रस उपशाखा सुरुङ्गाको सत्रौँ साधारण सभा सम्पन्न , रक्त सञ्चार सेवा स्थापनाको योजना

ठोस खबर , १६ जेठ / सुरुङ्गामा रक्त सञ्चार सेवा स्थापना गर्ने लगायतका भावी योजना सहित नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाको सत्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको सभाहलमा शनिबार आयोजित सत्रौँ साधारण सभामा संस्थाका अध्यक्ष गोपाल प्रसाद उप्रेतीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले हालसम्म गरेका कार्यहरूबारे सभामा जानकारी गराउनु भएको थियो ।
उहाले सुरुङ्गामा रक्त सञ्चार सेवा सञ्चालन गर्ने , एम्बुलेन्स सेवालाई थप व्यवस्थित बनाउने , संस्थाको भवन निर्माणका लागि पहल गर्ने , ज्ञानात्मक , प्रचारात्मक र सेवामूलक कार्यका लागि समुदायमा कार्य योजनासहित कार्यक्रम गरिने , अस्पतालमा चाहिने रगत अस्पतालबाटै मिलाउन पहल गरिने लगायतका संस्थाको भावी योजनाहरू सभामा प्रस्तुत गर्नु भएको थियोे ।
त्यस्तै संस्थाका सचिव दीपक भट्टराईले संस्थाको सांगठनिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै संस्थाले २०८१ साल मंसिर २८ गतेदेखि गरेका गतिविधिहरु बारे सभामा जानकारी गराउनुभएको थियो । संस्थाका कोषाध्यक्ष नारायण प्रसाद कटेलले संस्थाको २०८१/०८२ को प्राप्ति भुक्तानी ८० लाख १० हजार सात सय चार रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सभाको बन्द सत्रले अध्यक्ष उप्रेती , सचिव भट्टराई र कोषाध्यक्ष कटेलद्वारा सभामा प्रस्तुत प्रतिवेदन माथि व्यापक छलफल गर्दै पारित समेत गरेको छ ।
संस्थाका अध्यक्ष गोपाल प्रसाद उप्रेतीको अध्यक्षता तथा कनकाई नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष युवराज चौलागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथ चौलागाईं , नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाको पूर्व सल्लाहकार आशा शर्मा शिवाकोटी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका मन्त्री चन्द्रप्रसाद चुडाल , नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाका पूर्व सभापति प्रविन तिम्सिना , नेपाल रेर्डक्रस सोसाइटी कनकाई पालिका तदर्थ समिति संयोजक विष्णुप्रसाद चुडाल , कनकाई सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ख्याम ओली लगायतले विभिन्न सल्लाह सुझाव सहितको शुभकामना मन्तव्य राख्नुभएको थियो ।
विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि , संस्थाका सल्लाहकारहरु , पुर्व पदाधिकारीहरु ,शैक्षिक एवं सामाविक व्यक्तित्व , राजनीतिक व्यक्तित्व लगायतको अतिथ्यता रहेको कार्यक्रममा संस्थाका यसस्कर सदस्यहरू , विशिष्ट सदस्यहरू , लेखा उपसमितिका सदस्यहरू , आजीवन सदस्यहरु साथै दाताहरूको उपस्थिति रहेको थियो भने नेपाल रेडक्रस सोसाइटी सुरुङ्ग उपशाखाको उपसभापति झुमादेवी शिवाकोटीले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियोे । कार्यक्रमको सञ्चालन संस्थाका सचिव दीपक भट्टराईले गर्नुभएको थियो ।
