कनकाई प्याब्सनको प्रतियोगितात्मक अतिरिक्त क्रियाकलाप कार्यक्रम भब्वताका साथ सम्पन

ठोस खबर , १४ भदौ / कनकाई नगर प्याब्सनले विद्यार्थीहरूको अन्तरनिहित क्षमता प्रस्फुटन गराउने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आएको अतिरिक्त क्रियाकलाप (ECA) कार्यक्रम यस वर्ष पनि भव्यताका साथ सम्पन्न गरेको छ। कनकाई नगरपालिका–१ स्थित नवयुग शिक्षा निकेतन विद्यालय परिसरमा शनिबार आयोजित उक्त कार्यक्रममा नगरभरिका प्याब्सनमा आबद्ध १७ वटै विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमअन्तर्गत विभिन्न तहका लागि श्रुतिलेखन, हस्तलेखन, तात्कालिक वक्तृत्वकला, निबन्ध, हाजिरीजवाफ, चित्रकला, रङ्ग भर्ने तथा तत्कालै कविता लेखेर वाचन गर्नेसम्मका २० वटा विभिन्न प्रतिस्पर्धी विधाहरू समेटिएका थिए।

प्रतियोगितामा ५ वटा विधामा प्रथम, २ वटामा द्वितीय र २ वटामा तृतीय स्थान हासिल गर्दै कुल ९ वटा पदकका साथ विद्योदय अंग्रेजी विद्यालय प्रथम पुरस्कार सङ्ख्याका आधारमा उत्कृष्ट बन्न सफल भयो। त्यसैगरी ग्लोबल एडुकेयर एकेडेमीले ३ प्रथम, ४ द्वितीय र ३ तृतीय गरी सर्वाधिक कुल १० वटा पदक हात पार्यो भने झापा मिरगोडले ३ प्रथम, २ द्वितीय र ३ तृतीय गरी कुल ८ वटा पदक जित्न सफल भयो।

त्यसैगरी प्यारागन एकेडेमीले २ प्रथम, ४ द्वितीय र २ तृतीय गरी कुल ८ वटा, पशुपति अंग्रेजी माध्यमिक विद्यालयले २ प्रथम, १ द्वितीय र २ तृतीय गरी कुल ५ वटा र हरिकुल नमुना विद्यालयले १ प्रथम, ५ द्वितीय र २ तृतीय गरी कुल ८ वटा, पदक हात पारे।
यस्तै पाथिभरा एकेडेमीले १ प्रथम, २ द्वितीय र १ तृतीय गरी ४ वटा, देवकोटा अंग्रेजी विद्यालयले १ प्रथम र २ तृतीय गरी ३ वटा , अरुणोदय बिद्यालयले २ द्वितीय र २ तृतीय गरी ४ वटा तथा आयोजक विद्यालय नवयुग शिक्षा निकेतनले २ द्वितीय र १ तृतीय गरी ३ वटा पदक जिते। त्यसैगरी पारिजात शिक्षा निकेतनले १ प्रथम, हाम्रो पाठशालाले ३ तृतीय, ज्ञानमाला एकेडेमीले १ तृतीय र बेनुवाजा अंग्रेजी विद्यालयले १ तृतीय पुरस्कार हासिल गर्न सफल भए।
प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि कनकाई नगर शिक्षा शाखा प्रमुख राजकुमार ओडारी, विशेष अतिथि जिल्ला प्याब्सन झापाका प्राज्ञिक सल्लाहकार अखिल कुमार कोइराला,कनकाई नगर प्याब्सन अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष विनोद उप्रेती , कार्यक्रम संयोजक नवयुग शिक्षा निकेतनका सह प्राध्यापक खड्गबहादुर कार्की (राजन) , कनकाई नगर प्याब्सनका सल्लाहकार केशव बेडारी, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू तथा निर्णायकहरूले मेडल, ट्रफी र प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि कनकाई नगर शिक्षा शाखा प्रमुख राजकुमार ओडारीले अतिरिक्त क्रियाकलाप केवल मनोरञ्जनको साधन मात्र नभई पठनपाठनकै एक अभिन्न अङ्ग भएको बताउनु भयो। नेपाल सरकारको पाठ्यक्रमसँग जोडिएको आन्तरिक मूल्यांकन प्रणालीलाई सबल बनाउन र विद्यार्थीहरूको बहुमुखी प्रतिभा प्रस्फुटन गराउन यस्ता कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेल्ने समेत उहाले बताउनु भयो । कनकाई नगरपालिकाका विद्यार्थीहरूले नगर स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै जिल्ला र राष्ट्रिय स्तरसम्मै आफ्नो प्रतिभा देखाएर नगरको शान बढाउन सकुन भन्दै ओडारिले शुभकामना प्रदान गर्नु भयो । उहाँले विद्यार्थीहरूलाई अझ बढी मिहिनेतका साथ अघि बढ्न प्रेरित गर्नुभयो भने विद्यालयहरूलाई यस्ता सह-क्रियाकलापमा निरन्तर सहभागी गराउन आग्रह समेत गर्नुभयो।
कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै कनकाई नगर प्याब्सन अध्यक्ष विनोद उप्रेतीले विद्यार्थीमा निहित प्रतिभा प्रस्फुटन गराउन र ज्ञानमालाका अतिरिक्त क्रियाकलापलाई समेट्न हरेक वर्ष विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको बताउनुभयो । सहभागी हुनु नै आफैँमा ठूलो जित भएको उल्लेख गर्दै विजेताहरूलाई बधाई दिएका उहाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कनकाई नगरपालिकाका शिक्षा शाखा प्रमुख राजकुमार ओडारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा झापा जिल्ला प्याप्सनका अध्यक्ष छत्रबहादुर कार्की र जिल्ला प्राज्ञीक सल्लाहकार अखिल कुमार कोइरालाको विशेष आतिथ्यता रहेको थियो भने जिल्ला प्याब्सनका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठक, सचिव लक्ष्मी प्रसाद उप्रेती, सहसचिव विनोद सुब्बा , कनकाई नगर प्याब्सनका सल्लाहकार केशव बेडारी लगायतका व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो।
कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि , विभिन्न बिद्यालयका शिक्षक,कर्मचारी , निर्णायक , बिद्यार्थी , तथा सहभागीहरूलाई कनकाई नगर प्याप्सनका कोषाध्यक्ष बिमान लामाले स्वागत गर्नुभएको थियो। उक्त कार्यक्रमको सञ्चालन कनकाई नगर प्याब्सनका सचिव गोकुल उप्रेती र सदस्य गोपाल संग्रौलाले संयुक्त रूपमा गर्नुभएको थियो।
