ठोस खबर , १७ भदौ / बंगाली समाज सेवा समिति कनकाईको आयोजनामा​झापाको कनकाई नगरपालिका–३ स्थित कालिस्थान मन्दिर परिसरमा विगत ७ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको माँ मनसा देवीको पूजा तथा विशेष धार्मिक–सांस्कृतिक कार्यक्रम यस वर्ष पनि भदौ १६ र १७ गते भव्य रूपमा सम्पन्न भएको छ ।

यस वर्ष रसुवा भोटेकोशीमा आएको विनाशकारी बाढी-पहिरोमा परी दिवङ्गत भएका आत्माहरूको चिर शान्तिको कामना गर्दै १०८ दीप प्रज्ज्वलन, शोक सन्तप्त परिवारमा समवेदना र घाईतेहरुको स्वास्थ्य लाभकोकामना गरी मनसा देवीको पुजा आरधना गरिएको छ । पूजा कार्यक्रममा संकलन भएको सम्पूर्ण भेटी बाढी पीडितहरूकै उद्धार तथा राहतका लागि प्रदान गरिने भएको छ । देशमा भइरहेका दैविक विपत्तिको निराकरण, सुख, शान्ति, समृद्धि र राष्ट्र कल्याणको भाकल राख्दै नागदेवी (माँ मनसा) को विशेष पूजाअर्चना गरिएको बंगाली समाज सेवा समितिका अध्यक्ष पंकज मण्डलले जानकारी दिनुभयो ।

​अध्यक्ष पंकज मण्डलको अध्यक्षता तथा सचिव रविन्द्र मण्डलको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथि धार्मिक गुरु आचार्य पण्डित लक्ष्मीप्रसाद खतिवडाले माँ मनसा देवीको महिमा, धार्मिक महत्त्व र सर्पदंशबाट मुक्तिका लागि यस पूजाको सान्दर्भिकताबारे प्रकाश पार्नुभएको थियो ।

​पूजाका क्रममा कलश यात्रा, सन्ध्याकालीन गंगा आरती  पुष्पाञ्जली, ताण्डव नृत्यका साथै बंगाली समाजका नानीबाबुहरूले परम्परागत भेषभूषामा स्वागत नृत्य र कनकाई लोक कलाकार संघले सांगीतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय हास्य कलाकार श्रीकृष्ण लुइँटेल (बोके दाह्री) को बेजोड प्रस्तुति मुख्य आकर्षण बनेको थियो भने स्थानीय विद्यालयहरु झापा मेरीगोल्ड,  पशुपति, देवकोटा , ग्लोबल एडुकेयर र हरिकुल नमुना अंग्रेजी माविका विद्यार्थीहरूले सांस्कृतिक झाँकी , गित , मन्तव्य , स्काउट मार्चपास तथा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुमार पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, लायन्स क्लब डिस्ट्रिक्ट ३२५ सी का गभर्नर लीला प्रसाद चिमरिया, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सामाजिक संघ-संस्था एवं क्लबका प्रमुख तथा प्रतिनिधिहरू, शैक्षिक एवं सामाजिक व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो ।
प्रदीप मण्डलको संयोजकत्वमा भएको कार्यक्रमको भदौ १७ गते महाप्रसाद वितरण साथै मनसादेविको विसर्जन संगै समापन गरिएको छ ।