ठोस खबर , १७ भदौ / कनकाई नगरपालिका–३, सुरुङ्गा निवासी समाजसेवी तथा व्यवसायी एवं क्वीन प्यालेस होटलका सञ्चालक विजय गजुरेलले रसुवा–नुवाकोट क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोका कारण परिवारका सम्पूर्ण सदस्य गुमाएका पाँच जना बालबालिकाको संरक्षण तथा पालनपोषणको जिम्मेवारी लिने प्रतिबद्धता जनाउनुभएको छ।

भदौ १० गते आएको विनाशकारी बाढीपहिरोबाट अभिभावकविहीन बनेका ती बालबालिकालाई आफ्नै सन्तानसरह सुरक्षित वातावरणमा राखी शिक्षा, स्वास्थ्य, पालनपोषण तथा उज्ज्वल भविष्य निर्माणको सम्पूर्ण जिम्मेवारी लिन आफू इच्छुक रहेको गजुरेलले बताउनुभएको हो।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो मानवीय भावना सार्वजनिक गर्दै गजुरेलले विपत्तिमा परेर अभिभावक गुमाएका बालबालिकालाई सुरक्षित घर, राम्रो शिक्षा र उज्ज्वल भविष्य प्रदान गर्न चाहेको उल्लेख गर्नुभएको छ। साथै, आफ्नो यो प्रतिबद्धता सम्बन्धित निकाय, स्थानीय प्रशासन तथा जनप्रतिनिधिसमक्ष पुर्‍याउन सञ्चारकर्मी तथा माननीय सांसदहरूसँग समेत उहाँले सहयोगको अपिल गर्नुभएको छ।

समाजसेवामा निरन्तर सक्रिय रहँदै आउनुभएका गजुरेलले यसअघि पनि रसुवा बाढीपहिरोबाट प्रभावित परिवारको राहतका लागि आफ्नो व्यक्तिगत तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. १,०१,००१ सहयोग गरिसक्नुभएको छ।

विपत्तिको कठिन समयमा आर्थिक सहयोगसँगै अभिभावकविहीन बालबालिकाको भविष्यप्रति समेत व्यक्तिगत जिम्मेवारी बहन गर्ने उहाँको प्रतिबद्धतालाई मानवीय सेवाको उदाहरणका रूपमा लिइएको छ। गजुरेलको यो पहलले विपत्तिमा परेका बालबालिकाको संरक्षण र भविष्य निर्माणका लागि समाजका अन्य व्यक्ति तथा संस्थालाई समेत प्रेरणा दिने अपेक्षा गरिएको छ।