ठोस खबर / धार्मिक पर्यटन प्रवर्द्धनकालागि पुर्वको प्रसिद्ध पर्यटकीय क्षेत्र कनकाई १ / २ स्थित जामुनखाडी सिमसार क्षेत्रमा अाज बुधबारदेखि श्रीमद देवीभागवत नवाह ज्ञान महायज्ञ संचालन हुदैछ ।

श्री पञ्चकन्या पाथिभरा देवी मन्दिरको वार्षिकउत्सव समेतको अवसर पारेर अाज देखी सुरु भई १६ गते समापन हुने महायज्ञ धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्येश्यका साथ संचालन गर्न लागिएको जामुनबारी सामुदायिक वन समुहका अध्यक्ष ख्यामराज सिटौलाले जानकारी दिए ।

उक्त स्थानमा एक वर्ष अघि मात्र दमक निवासी राजेन्द्र र युवकला विष्ट दम्पतीले आफ्ना जन्मदाता एवं कर्मदाता बुवाआमा स्व.दिलवहादुर र कमला विष्टको अर्धकदको शालिक स्थापना गरी बुवाआमाकै स्मृतिमा पाथिभरा देवीको मन्दिर स्थापना गरेको बताइएको छ । विष्ट दम्पतीले जामुनबारी सामुदायिक वन क्षेत्रको १० कठ्ठा जमिनमा पाथिभरा देवीको मन्दिर स्थापना गरेर महायज्ञ लगाएका थिए । त्यसकै निरन्तरता स्वरुप यस वर्ष पनि वार्षिक उत्सवको अवसर पारेर महायज्ञ आयोजना गरिएको वन समुहका अध्यक्ष सिटौलाले बताए । वन समुहले विभिन्न विधामा वन क्षेत्रको विस्तार एवं विकास गर्ने योजना बनाएको अध्यक्ष सिटौला बताउँछन् ।

महायज्ञ सम्पन्न गर्न वन समुहका पुर्व कोषाध्यक्ष बुद्धिमान बोहोराको संयोजकत्वमा जामुनबारी सामुदायिक वनका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुसहित १५१ सदस्यीय मूल आयोजक समिति गठन भएको बताइएको छ । त्यस्तै स्थानीय समाजसेवी खड्ग गिरीको संयोजकत्वमा आर्थिक उपसमिति, अर्जुन राईको संयोजकत्वमा पुराण व्यवस्थापन उपसमिति, मन नेम्माङको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

पं.कमलकान्त आचार्य मुख्य कथाबाचक र पं.गोकुल कोइराला उपबाचक रहने महायज्ञ संगीतमय रहने बताइएको छ । महायज्ञमा ९ लाख खर्च हुने साथै २२ लाख रुपैंयाँ संकलन हुने अनुमान गरिएको छ । महायज्ञबाट प्राप्त आम्दानी वन क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा खर्च गरिने आयोजक समितिका संयोजक बोहोराले जानकारी दिए ।