कनकाइमा ९ दिने निशुल्क पशु स्वास्थ्य घुम्ती शिविर शुरु

ठोस खबर , १८ चैत / झापाको कनकाई नगरपालिकाका कृषकहरुले पालेका पशु पन्छिको स्वास्थ्य प्रति चासो देखाउदै नगरका ९ बटै वडामा एक एक दिन सन्चालन गर्ने गरी नौ दिने निशुल्क पशु स्वास्थ्य घुम्ती शिविर शुरु भएको छ ।
कनकाई नगरपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारी तथा अभियान नेपालको सहजिकरणमा कनकाई नगरपालिकामा सञ्चालित साझेदारीमा कृषि तथा पशुपालन उद्यमशीलता विकास परियोजना अन्तर्गत आज चैत १८ गते बाट कनकाईमा ९ दिने निशुल्क पशु स्वास्थ्य घुम्ती शिविर शुरु भएको हो ।

शिविरको पहिलो दिन कनकाई नगरपालिका ५ बाट एक औपचारिक कार्यक्रम गरि उद्घाटन गरिएको छ । कनकाई नगरपालिका ५ का वडा अध्यक्ष कृष्ण राईको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा शिविरको औचित्य माथी प्रकाश पार्दै कनकाई नगरपालिकाका पशुपन्छी तथा मत्स्य विकास शाखाका भेटनरी अधिकृत कुलबहादुर गुरुङले किसानहरूले पालेका पशुपंक्षी लाई स्वास्थ्य राख्न सकेन भने वृद्धि विकास भई उत्पादन दिन सक्ने अवस्था नहुने भएकाले किसानले पालेका पशुपंक्षीको निशुल्क स्वास्थ्य परीक्षण गरी किसानहरुलाई राहत दिने उद्देश्यले घुम्ती शिविर आयोजना गरिएको बताउँदै घुम्ती शिविरमा दिइने सेवाबारे समेत प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले मानिस बिरामी भयो भने सवारी साधन चढेर अस्पताल जान सकिन्छ तर पशुपंछीको हकमा भने यो विषय एकदम गम्भीर विषय भएको र पशुपन्छीले उपचार नपाइराखेको हुँदा विगत केही वर्षदेखिनै नगरले यस किसिमको घुम्ती शिविर आयोजना गर्दै आएको बताउनुभयो। उहाँले सबै पशुपंछीपालक कृषकहरूको घरसम्म यो कार्यक्रम पुगोस् भनेर नगरले ल्याएको घुम्ती शिविरमा सबै कृषकहरूले आफ्ना पशुपंक्षीहरू ल्याएर पशुपंक्षीको स्वास्थ्य परीक्षण गरी पशु स्वास्थ्य सेवा लिन अनुरोध गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष राईले पशु स्वास्थ्य शिविरले पशुपंछीपालक कृषक हरूलाई पशुको पनि स्वास्थ्य परीक्षण गरिरहनुपर्छ भन्ने जागरण जगाउने आशा व्यक्त गर्दै अहिले भइरहेको शिविरमा पशुको स्वास्थ्य परीक्षण गराउन छुट्नुभएका कृषकहरुलाई कनकाई नगरपालिका ३ मा रहेको पशुपन्छी तथा मत्स्य विकास शाखामा गई सेवा लिन पनि अनुरोध गर्नुभयो ।
उद्घाटन कार्यक्रममा कनकाई नगर उपप्रमुख आशा शर्मा शिवाकोटी कार्यपालिका सदस्यहरू कृष्णमाया भुजेल, नरादेवी मगर, कनकाई ५ का वडा सदस्यहरु गोविन्द कार्की, इन्दिरा अधिकारी, पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख तेज बहादुर पौडेल कृषि शाखा प्रमुख श्रेहा खनाल , नगरका इन्जिनियर मनिष चौहान, हेफर प्रोजेक्ट नेपालबाट डाक्टर रोशन सन्जेल लगायतको आतिथ्यता रहेको थियो ।
प्रविधिकले गाईको स्वास्थ्य परिक्षण गरी सिफारिस गरिएको औषधि प्रमुख अतिथि नगर प्रमुख राजेन्द्रकुमार पोखरेलबाट गाईपालक कृषकलाई वितरण गर्दै शिविर उद्घाटन गरिएको कार्यक्रमको सञ्चालन हेपर प्रोजेक्ट नेपालका कार्यक्रम संयोजक केशव खनालले गर्नुभएको थियो ।
चैत्र १८ गतेबाट सुरु भई चैत्र २६ गते सम्पन्न हुने शिविरको पहिलो दिन कनकाई नगरपालिका वडा नम्बर ५ मा गरिएको निःशुल्क पशु स्वास्थ्य परीक्षण शिविरबाट तीन सय भन्दा बढी कृषकले सेवा लिएको कार्यक्रम संयोजक खनालले जानकारी गराउनुभएको छ ।
