ठोस खबर , २५ बैशाख / कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा रहेको कनकाई माविको खेलमैदानमा यही वैशाख २६ गतेबाट झापा जिल्लापालिका स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।
कनकाई खेलकुद प्रतिष्ठानले बिहिबार सुरुङ्गामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो ।

“खेलकुदमार्फत राष्ट्र विकासको अभियान” मूल नाराका साथ २०७१ सालमा स्थापना भएको कनकाई खेलकुद प्रतिष्ठानले खेलकुदका विविध गतिविधिहरू गर्दै आएको र यसलाई निरन्तरता दिँदै झापा जिल्ला पालिका स्तरीय पुरुष फुटबल प्रतियोगिताको आठौं संस्करण २०८३ वैशाख २६ गतेबाट आयोजना गरिएको कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले जानकारी दिनु भएको छ ।

कनकाई नगरपालिकाको मुख्य सहयोग रहेको प्रतियोगिता सम्पन्न गर्नको लागि प्रतिष्ठानका कोषाध्यक्ष डम्बरप्रसाद फुयालको संयोजनमा आर्थिक व्यवस्थापन उपसमिति , सचिव रामप्रसाद निरौलाको संयोजनमा प्रचारप्रसार तथा कार्यक्रम व्यवस्थापन उपसमिति , सदस्य राजेश अघोरीको संयोजनमा खेलमैदान तथा स्टेज व्यवस्थापन उपसमिति , चित्रा श्रेष्ठको संयोजनमा अतिथि सत्कार व्यवस्थापन उपसमिति गठन गरी जिम्मेवारी प्रदान गरिएको र खेलको अन्तिम तयारी पूरा भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

खेल सौहार्द पूर्ण वातावरणमा सम्पन्न गर्नको लागि र खेल अवधिमा हुनसक्ने सम्भावित समस्याहरू सहजीकरणको लागि दिलकुमार कार्कीको संयोजनमा संस्थाका संस्थापक सदस्य ज्योतिकुमार उप्रेती र खेल प्रशिक्षक लिलुगिर सदस्य रहेको सहजीकरण उपसमिति समेत तय गरिएको छ ।

प्रतियोगितामा आयोजक कनकाई नगरपालिका त्यसैगरी गौरीगञ्ज गाउँपालिका , हल्दिबारी गाउँपालिका , बिर्तामोड नगरपालिका , बारादशी गाउँपालिका , कमल गाउँपालिका , अर्जुनधारा नगरपालिका , गौरादह नगरपालिका , शिवसत्ताशी नगरपालिका , बुद्धशान्ति गाउँपालिका , भद्रपुर नगरपालिका र झापा गाउँपालिका गरी झापाका १५ वटा पालिकामध्ये १२ वटा पालिकाको सहभागिता रहेको र विशेष कारण तीनवटा पालिकाले सहभागिता जनाउन नसकेको संस्थाका सचिव रामप्रसाद निरौलाले जानकारी दिनुभएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार राशि १लाख २० हजार दोस्रो पुरस्कार राशि ७५ हजार साथै ट्रफी , मेडल र प्रमाणपत्र रहेको प्रतिष्ठानका कोषाध्यक्ष डम्बर प्रसाद फुयालले जानकारी दिनुभएको छ । प्रतियोगिताका विधागततर्फ उत्कृष्ट गोलकिपर , सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्स र उत्कृष्ट मिडफिल्डरले नगद ३ हजार एक सय प्राप्त गर्नेछन् भने म्यान अफ द सिरिजले ५ हजार एक सय प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा हरेक खेलको मेन अफ दि म्याचलाई समेत पुरस्कारको व्यवस्था गरिएको कोषाध्यक्ष फुयालले जानकारी गराउनुभएको छ ।
वैशाख २६ गते उद्घाटन खेल आयोजक कनकाई नगरपालिका र गौरीगञ्ज गाउँपालिका बीच हुने छ । उद्घाटन समारोहका प्रमुख अतिथि कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले प्रतियोगिताको उद्घाटन गर्नुहुनेछ भने । प्रतियोगिताको फाईनल जेठ ६ गते हुनेछ ।