नयाँ वर्षको नयाँ उत्साह उमङ्गका साथ कनकाईमा प्रदेश स्तरीय भेट्रान कप हुने

ठोस खबर , १ बैशाख / नयाँ वर्षको नयाँ उत्साह उमङ्गका साथ कनकाईमा प्रदेश स्तरीय भेट्रान कप हुने भएको छ ।
कनकाई भेट्रान क्लबको आयोजनामा “स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” मुल नारासहित कनकाई माविको खेलमैदानमा यहि बैशाख ३ गते बाट बैशाख १२ गते सम्म कनकाई भेट्रान कप चौथो संस्करण फुटवल प्रतियोगिता हुने क्लबका अध्यक्ष श्यामकुमार राईले जानकारी दिनुभएको छ ।

प्रतियोगितामा उर्लाबारी भेट्रान, चारपाने भेट्रान, विराटनगर भेट्रान, बिर्तामोड भेट्रान, हाम्रो धरान भेट्रान , मेचीनगर भेट्रान , दुधे भेट्रान , ढल्के जोवन भेट्रान , दमक लखनपुर भेट्रान र आयोजक टिम कनकाई भेट्रान क्लब गरी कोशि प्रदेशका १० वटा टिमको सहभागीता रहेको खेल संयोजक डिल्लु कार्किले जानकारी दिनुभएको छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार र उपविजेताले नगद ६७ हजार रुपैयाँ प्राप्त गर्ने साथै विजेता उपविजेता दुबै टिमलाई ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा हरेक खेलको म्यान अफ दि म्याच साथै म्यान अफ द टुर्नामेन्टलाई समेत पुरस्कारको व्यवस्था गरिएको क्लबका कोषाध्यक्ष सन्तोष लिम्बूले जानकारी दिनुभएको छ ।
खेल सम्पन्न गर्न विभिन्न उपसमितिहरु बनाई जिम्मेवारी प्रदान गरिएको र खेलको तयारी पूरा भएको पनि आयोजकको भनाई छ । प्रतियोगितामा कनकाई नगरपालिका र बिभिन्न खेल प्रेमी सहयोगी दाताहरूको आर्थिक सहयोग रहेको क्लबका अध्यक्ष श्यामकुमार राईले बताउनु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेल बैशाख ३ गते उर्लाबारी भेट्रान र चारपाने भेट्रान वीच हुनेछ । ११ साईटको खेलमा ३८ वर्ष उमेर समुहको १ खेलाडी , ४० बर्ष भन्दा माथिका ८ खेलाडी र ५० बर्ष भन्दा माथिका २ खेलाडी हुनुपर्ने आयोजकले जानकारी गराएका छन ।
