वैदिक सनातन धर्म संरक्षण समिति नेपालक कनकाईको साधारणसभा तथा प्रथम नगर अधिवेशन सम्पन्न , अध्यक्षमा पुन: नेपाल निर्विरोध

ठोस खबर , १३ जेठ /युवा पण्डित युवराज नेपाललाई दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्विरोध चयन गर्दै वैदिक सनातन धर्म संरक्षण समिति नेपाल कनकाई नगर समितिको साधारण सभा तथा प्रथम नगर अधिवेशन सम्पन्न भएको छ ।
समितिको मङ्गलबार कनकाई धाम कोटिहोम स्थित निरौला बन्धु भवनको सभा हलमा सम्पन्न साधारण सभा तथा प्रथम अधिवेशनले अध्यक्षमा युवा पण्डित युवराज नेपाल सहित सिङ्गो कार्यसमितिनै सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा दधिराम न्यौपाने , सचिवमा हरि प्रसाद मिश्र , सह सचिवमा पुष्प खतिवडा र कोषाध्यक्षमा सुवास ढकाल समेत सर्वसम्मत चयन हुनुभएको निर्वाचन समितिका संयोजक डा. पुण्यप्रसाद पौड्यालले जानकारी दिनुभएको छ । त्यसै गरी समितिको सदस्यहरुमा सोमनाथ भट्टराई , पुजन ढुङ्गाना ,नवीन खतिवडा , नवीन अधिकारी , राजेन्द्र घिमिरे र अनिल खतिवडा सर्वसम्मत चयन हुनुभएको पौडेलले बताउनु भएको छ ।
कार्यसमिति सर्वसम्मत चयनका लागी समितिका कनकाई नगर सल्लाहकार संयोजक समेत रहनुभएका डा. पुण्यप्रसाद पौड्यालको संयोजकत्वमा समितिका केन्द्रीय कोषाध्यक्ष पं.केशरमणी निरौला र जिल्ला सदस्य पं. गणेश ढकाल सदस्य रहेको निर्वाचन समितिले विशेष भुमिका निर्वाह गरेको थियोे ।
सभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै समितिका अध्यक्ष पण्डित युवराज नेपालले वैदिक सनातन धर्मको संरक्षण , दिनदुखीहरूको सेवा , कर्मकाण्डमा भएका विकृतिहरूको न्यूनीकरण तथा एकरुपता , सामाजिक सद्भाव , परोपकार लगायतका विभिन्न उद्देश्य लिएर २०७५ सालमा गठन भएको वैदिक सनातन धर्म संरक्षण समिति नेपालमा हाल संस्थापक आजीवन , आजीवन , श्रेयस्कर लगायतका ६०० भन्दा बढी सदस्यहरू सामेल रहेको जानकारी गराउनुभयो ।
उहाँले सभामा कनकाई नगर समितिले स्थापनाकालदेखि हालसम्म गरेका कार्य विवरण , समितिको भावि योजना , समस्या तथा चुनौती र केन्द्रलाई सुझाव समेत समेटिएको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे भने सभाको बन्द सत्रले छलफल सहित प्रतिवेदन अनुमोदन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि वैदिक सनातन धर्म संरक्षण समिति नेपालका केन्द्रीय अध्यक्ष पं.रामप्रसाद ओझा , वौदिक, धार्मिक एवं सामाजिक व्यक्तित्व कोमल प्रसाद पोखरेल , वैदिक सनातन धर्म संरक्षण समिति कनकाई नगर समितिका सल्लाहकार समिति संयोजक डाक्टर पुण्यप्रसाद पौडेल , वैदिक सनातन धर्म संरक्षण समिति नेपालका केन्द्रीय कोषाध्यक्ष पण्डित केशरमणि निरौला , जिल्ला सदस्य पण्डित गणेशप्रसाद ढकाल लगायतले विभिन्न सल्लाह सुझाव सहित नवगठित कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
वैदिक सनातन धर्म संरक्षण समिति नेपालका केन्द्रीय उपाध्यक्ष मदन मोहन अधिकारी , केन्द्रीय सदस्य सुवास भट्टराई , जिल्ला अध्यक्ष मोहन प्रसाद घिमिरे लगायत वैदिक सनातन धर्म संरक्षण समितिमा आबद्ध विभिन्न तह र तप्काका धार्मिक व्यक्तित्वहरूको आतिथ्यता रहेको कार्यक्रममा उपस्थित सबैलाई स्वागत कनकाई नगर समितिका सदस्य पण्डित अनिल खतिवडाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन समितिका सचिव पण्डित हरिप्रसाद मिश्रले गर्नुभएको थियो ।
