ठोस खबर / झापाको कन्काई नगरपालिका ३ स्थित हाम्रो पाठशाला विद्यालयले आफ्नो स्थापनाको चौथो वार्षिक उत्सव विभिन्न कार्यक्रम गर्दै सम्पन्न गरेको छ ।
शनिबार कनकाई उद्योग वाणिज्य सङ्घको सभाहलमा पाठशालाले आफ्नो चौथो वार्षिक उत्सब सम्पन्न गरेको हो ।

स्थापनाको चौथो वर्षसम्म आइपुग्दा यस अघि विद्यालय स्थापना लगत्तै कोभिडको कारणले बार्षिक उत्सवहरु गर्न नसकिएको र चौथो वर्षमा आइपुग्दा पहिलोपटक बिद्यालयले वार्षिक उत्सव गरेको हाम्रो पाठशालाको संस्थापक एवं व्यवस्थापन समिति अध्यक्ष धर्मकला पौडेल कोइरालाले बताउनु भयो ।

कार्यक्रममा विद्यालयका साना साना नानी बाबुहरुले विभिन्न गीत प्रस्तुत गर्नुभएको थियो भने अतिनै राम्रो नृत्यहरु समेत प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा नानीबाबु हरुले विभिन्न सांस्कृतिक भेषभुषा प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बिद्यालयका आमा अभिभावकहरुले रमाईलो सामुहिक नृत्य प्रस्तुत गर्नुभएको थियो ।

पाठशाला विद्यालयको पाठशाला शीर्ष गीतमा संगीत दिनुहुने संगीत गुरु ध्रुवप्रसाद पाठक साथै उक्त गीतमा स्वर दिनु हुने बाल कलाकारहरु अंकित राई , सन्ध्या ठटाल , कृपा पौडेल , अायुसा फुयाल , प्रेरणा अोली , प्रिस्किला राई र प्रिया श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरिएको थियो , भने विद्यालयका आमा अभिभावकहरुले प्रस्तुत गर्नुभएको नृत्यलाई समेत निर्देशन गर्नुभएका नृत्यनिर्देशक भानुभक्त सिटौलालाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा हाम्रो पाठशाला विद्यालयका प्रिन्सिपल अखिल कुमार कोईरालाले विद्यालयको बारेमा आफ्नो मन्तव्यको राख्नुभएको थियो ।
कनकाई नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख , उपसचिव पिताम्बर गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गौतमले शुभकामना मन्तव्य राख्दै हाम्रो पाठशालाका प्रिन्सिपल अखिल कुमार कोईरालाले शिक्षाक्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै कार्यक्रममा सबैलाई समान रूपले सहभागि गराएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
त्यस्तै कार्यक्रममा प्याब्सन कन्काई नगर समितिका अध्यक्ष विनोद सुब्बाले शुभकामना मन्तव्य राख्दै कनकाईमा सबैभन्दा पछि खुलेको विद्यालय भएपनि हाम्रो पाठशाला नमुना विद्यालय बन्दै गएको बताउनु भयो ।

त्यसैगरी अभिभावक हरूको तर्फबाट मन्तव्य राख्दै हाम्रो पाठशालाका प्यारेन्ट रिप्रिजेन्टेटिभ शिव कडेलले नानिबाबुहरुको प्रस्तुतिको प्रशंसा गर्दै समाजमा अहिलेको आवश्यकता भनेको गुणस्तरीय शिक्षाभएको बताउँदै हाम्रो पाठशालाबाट गुणस्तरीय शिक्षा प्राप्त गर्नको लागि अभिभावकहरू पनि सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनु भयो ।

कार्यक्रममा कलानिधि शिक्षा प्रतिष्ठान एवं हाम्रो पाठशालाका संरक्षक इन्द्रमणि कोइराला , मन्टेश्वरी एसोसिएसन अफ झापाका अध्यक्ष राम लामा , शिक्षासेवी एवं रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष खेम प्रसाद प्रसाई , संगीत साधना कला केन्द्र सुरुङ्गाका संस्थापक धुर्व पाठक कन्काई माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईं , नृत्य प्रशिक्षक अमन गुप्ता , संगीत साधना कला केन्द्रका तबला बादक एवं रियाज तबला एकेडेमीका प्रोपाइटर दिनेश घिमिरे , नृत्य निर्देशक प्रकाश राजवंशी , विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु , पिटिए पदाधिकारीहरु शिक्षक कर्मचारी शिक्षासेवी एवं सञ्चारकर्मी हरुको उपस्थिति रहेको थियो ।

हाम्रो पाठशालाको संस्थापक एवं व्यवस्थापन समिति अध्यक्ष धर्मकला पौडेल कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित सबैलाई विद्यार्थीहरु अदिती उप्रेती , ब्रोनिस ढकाल , आर्या सिटौलाले गीतमार्फत र शिक्षक शान्ति राईले मन्तव्य मार्फत स्वागत गर्नुभएको कार्यक्रमको संचालन शिक्षक मिरा प्रधानले गर्नुभएको थियो ।