सुरुङ्गा , ८ बैशाख / नेपालको बन्द निषेधित क्षेत्र झापाको कनकाई नगरपालिका स्थित सुरुङ्गामा यही बैशाख ११ गते देखि २३ गते सम्म फुड फेस्टिभल तथा सास्कृतिक पर्यटन प्रवर्द्धन महोत्सव २०८० अायोजना हुने भएको छ ।

होटल व्यवसायी संघ जिल्ला समिति झापाको आयोजना र होटल व्यवसायी संघ क्षेत्रीय समिति कनकाईको सह-आयोजनामा सुरुंगा मुख्य राजमार्ग उत्तर कृषि बजार परिसरमा महोत्सवको तयारी गरिएको शुक्रबार सुरुंगा स्थित होटल डिलाइटमा अायोजकले पत्रकार भेटघाट कार्यक्रम गरि जानकारी गराएको छ ।

महोत्सव सम्पन्न गर्न ख्याम अोलिको संयोजनमा ११ सदस्यीय मुल अायोजक समिति साथै विरप्रसाद चुडालको संयोजनमा सल्लाहकार तथा अनुगमन उपसमिति , अनिता खनालको संयोजनमा स्वागत सम्मान उपसमिति , अाकाश लिम्बूको संयोजनमा स्वयंसेवक परिचालन उपसमिति , भोजराज वास्तोलाको संयोजनमा स्टेज ब्यवस्थापन उपसमिति , चन्द्रा बुढाथोकीको संयोजनमा स्वास्थ्य तथा खानेपानी व्यवस्थापन उपसमिति , शुरेस तिवारीको संयोजनमा स्टल व्यवस्थापन उपसमिति , शिव पौडेलको संयोजनमा सांस्कृतिक कार्यक्रम संचालन उपसमिति लगायतका अावाश्यकक विभिन्न उपसमितिहरु बनाई काम अगि बढाइएको वताइएको छ ।

होटल व्यवसायी संघ झापाका सचिव तथा महोत्सव मुल अायोजक समितिका संयोजक ख्याम ओलीले होटल व्यवसायी संघले यस अघिवाटै बार्षिक कार्यक्रम बनाएर महोत्सव अायोजना गर्न सुरु गरेको र गत वर्ष बिर्तामोडमा पहिलो महोत्सव गरिएको बताउदै यस पटक बन्द निषेधित , धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलहरूको परिचय बोकेको सुरुङ्गामा महोत्सव अाय‍ोजना गरिएको जानकारी गराएका छन । त्यसैगरी आगामी हरेक वर्ष जिल्लाका विभिन्न स्थलमा महोत्सव आयोजना गर्ने लक्ष्य रहेको समेत संयोजक ओलीले बताएका छन ।

कनकाईमा रहेका सबै संघ संस्था संग सहकार्य गरेर सन्चालन गरिने महोत्सवमा स्वदेशी तथा विदेशी परिकार र स्थानीय जातजातिका मौलिक परिकारहरू उपलब्ध हुने र त्यसका लागि ३० भन्दा धेरै खाना (परिकार) का स्टलहरू रहने आयोजकले जनाएको छ ।

करिव ३० लाख लागत अनुमान गरिएको महोत्सवमा सांस्कृतिक नृत्य तथा सांगीतिक कार्यक्रम , विभिन्न खेल तमासाहरु पनि रहने बताइएको छ । स्थानीय जातजातीको लोक कला संस्कृति, आधुनिक, पप र र्याप गीत संगीत पनि महोत्सवमा प्रस्तुत हुने होटल व्यवसायी संघ झापाका अध्यक्ष इन्दिरा श्रेष्ठले बताइन । उनले भनिन ‘चौतर्फी व्यवसायमा देखिएको आर्थिक तरलता त्यसमा होटल व्यवसायमा प्रत्यक्ष देखा परेको छ,  होटल व्यवसायलाई आर्थिक रुपमा चलायमान गर्न र संघको निर्माणधीन भवनलाई निरन्तरता दिने उद्देश्यका साथ होटल व्यवसायी संघ झापाले दोस्रो महोत्सव आयोजना गरेको हो ।’

होटल व्यवसायी संघ जिल्ला कार्यसमिति झापा र होटल व्यवसायी संघ क्षेत्रीय समिति कनकाईका कार्यसमितिको उपस्थितिमा गरिएको पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन संघका महासचिव शिव पौडेलले गरेका थिए ।