बिद्यालय व्यवस्थापन समिति महासङ्घले झापामा बुझायो ज्ञापन पत्र

झापा / सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले झापामापनि ज्ञापनपत्र बुझाएको छ ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालका केन्द्रीय सदस्य तथा कन्काई माध्यमिक विद्यालय सुरुङ्गाका अध्यक्ष चन्द्रप्रसाद प्रसाईंको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइ झापामा ज्ञापनपत्र बुझाइएको हो ।
महासङ्घले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको सम्बन्धमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विधेयकको मस्यौदाकाबारेमा फरक–फरक धारणाहरू सार्वजनिक भइरहेको भन्दै वास्तविकता सरकारले नै बाहिर ल्याउनुपर्नेमा जोड दिएको छ ।

महासङ्घले सरकारले औपचारिक रूपमा विधेयकको मस्यौदा सार्वजनिक नगरेता पनि सरकारको आधिकारिक छाप र दस्तखत भएको दस्तावेज बाहिर आएको र मन्त्रिपरिषद्बाट स्वीकृत भएको भनिएको उक्तविधेयक संसदमादर्ता नगरी मनोमानीपूर्ण फेरबदल गरिराखेको भन्ने समाचार समेत सार्वजनिक भएको दाबी गरेको छ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले समुदायको स्वामित्व र अगुवाइमा सञ्चालन हुने विद्यालय सामुदायिक विद्यालय भएकाले सङ्घीय शिक्षा ऐनमा सामुदायिक विद्यालय लेख्न, विद्यालय व्यवस्थापन समितिको नेतृत्वमाअभिभावक मध्येबाट राख्न, अभिभावक भेला मार्फत विद्यालय व्यवस्थापन समिति गठनको प्रबन्ध राख्न, जनप्रतिनिधि र प्रधानाध्यापकको जस्तै विद्यालय व्यवस्थापन समितिको पदावधि पाँच वर्ष कायम गर्न, खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनौट गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णायक सहभागिता रहने व्यवस्था गर्न र सामुदायिक विद्यालय सञ्चालन, व्यवस्थापन र सुधारमा स्वयंसेवी रूपमा क्रियाशील विद्यालय व्यवस्थापन समितिहरूको राष्ट्रिय छाता सङ्गठन सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालको भूमिकालाई सङ्घीय शिक्षा ऐनमा व्यवस्था गर्न माग गरेको छ ।
विद्यालय शिक्षासम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक कुनै पनि सरोकारवालाहरुसँग छलफल र परामर्श बिना नै तयार गरेको विधेयक मस्यौदालाई अध्ययन गर्दा विद्यालय व्यवस्थापन समिति सम्बन्धी व्यवस्था त्रुटिपूर्ण रहेको, विद्यालय सञ्चालन र व्यवस्थापनमा अभिभावकको कुनैपनि सहभागिता, संलग्नता र भूमिका नरहनेगरी विधेयक मस्यौदा तयार भएको बुझिएको महासङ्घले दाबी गरेको छ।
ज्ञापनपत्र झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र शिक्षा विकास तथा समन्य इकाइ झापाका शिक्षा अधिकृत भोला दाहालले अलगअलग कार्यक्रमवीच ग्रहण गरेका थिए ।
मागपत्र ग्रहण पश्चात दुवै कार्यालयले आफ्नो मन्त्रालयलाई पत्राचार गरेको बुझिएको छ ।
ज्ञापनपत्र बुझाउने टोलीमा ज्योति मावि कमल २ का अध्यक्ष तिलक खडका , सरस्वती मावि कमल ४ का अध्यक्ष दोलख बहादुर रायमाझी , आदर्श विद्यामन्दिर मावि घैलाडुब्बाका सदस्य नरेन्द्र घिमिरे, लालपानी माविका प्रअ बालकृष्ण प्रसाई , जनचेतना आधारभूत विद्यालयका सदस्य जीवनाथ ओझा , भृकुटी मावि दुर्गापुरका अध्यक्ष नवीन बस्नेत , चम्पापुर माविका अध्यक्ष सीता बस्नेत लगायतको सहभागिता रहेको थियो ।
