इमानका साथ पार्टी चलाएर यो देशमा परिवर्तन ल्याएरै छोड्छौ – रवि लामिछाने

झापा , २ भदौ / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इमानका साथ पार्टी चलाएर यो देशमा परिवर्तन ल्याएरै छोड्ने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी झापा गाउँपालिकाले झापा बजारमा शनिवार आयोजना गरेको खुल्ला सभालाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।
“कमिशन खाएर पार्टी चलाउदैनौ ढुक्क हुनुहोस , हामी शानले इमानका साथ छाती ठूलो पारेर ,शिर उचो राखेर यो देशमा परिवर्तन ल्याएरै छाड्छौ ” लामिछानेले भने।
२०८४ साल सम्ममा देशका विभिन्न कुनामा पुग्दै होनाहार युवाहरुलाई गाउँपालिका अध्यक्ष , वडाध्यक्ष बनाउनु छ भन्दै अब झोला बोकेर पार्टीमा कुद्नेको अन्त्य गर्नु पर्ने उनले बताए ।
सम्बोधनकै क्रममा रास्वपाका केन्द्रिय सदस्य रमेश प्रसाईले जान्नेलाई छान्ने नीति नलिएर यो देसमा विकास नभएको बताए । “धानको ध नजान्ने कृषी मन्त्री हुन्छन् , कानुनको धारा र पानीको धारा नचिन्ने कानुनमन्त्री हुन्छन् अनि कसरी बन्छ देशको निति “प्रसाईले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सहि ठाउँमा योग्य मानिस छान्ने निति लिएको बताउदै संबैधानिक समाजवादनै रास्वपाको लक्ष्य लिएको प्रसाईले बताए ।
खुल्ला सभालाई अन्य वक्ता महामन्त्री मुकुल ढकाल , केन्द्रिय सदस्य कुसुम महर्जन लगायतले सम्बोधन गरेका थिए ।
