धरानमा निषेधाज्ञा

ठोस खबर / आज राति १२ बजेदेखि भोलि भदौ ९ गते राति १२ बजेसम्म स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी भए संगै धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको हुदा धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले बताउनु भएको छ ।
धरान प्रवेश स्थान तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको छ । ती स्थानबाट प्रदर्शनमा आउनेलाई धरान प्रवेश गर्न दिएको छैन ।

‘हामीले सबैपक्षसँग छलफल गरेका छौं, धरानको आग्रह बाहिरबाट प्रदर्शनमा नआउनुहोस् भन्नेछ,’ प्रहरी उपरीक्षक ढकालले भने, ‘उच्च सुरक्षा सतर्कता अपनाएका छौं ।’
धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका छन् । जसका कारण साम्प्रदायिक सदभावमा असर पर्न सक्ने भएकाले प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले निकालेको सूचनामा भने डेंगु संक्रमण बढिरहेको र जनस्वास्थ्य आपतकालीन् अवस्था क्षेत्र घोषणा गर्ने गरी सम्बन्धित निकायमा सिफारिस गरिएको स्थितिमा सभा सम्मेलन गर्न निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।
