कनकाईमा ५९औँ राष्ट्रिय बाल दिवसका अवसरमा विविध कार्यक्रम

चन्द्र बस्नेत , ठोस खबर / झापाको कनकाई नगरपालिकामा ५९ औँ राष्ट्रिय बाल दिवसका अवसरमा विविध कार्यक्रम भएको छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ मुल नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाएको हो ।
नेपालमा हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ ।
यसैबीच दिवसको अवसरमा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा शुक्रबार शुभकामना दिँदै उहाँले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताउनुभयो ।
विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र संवर्द्धन गर्न सम्बन्धित पालिकाबाटै वैकल्पिक हेरचाह र परिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको पनि पोखरेलले बताउनुभएको छ।
पोखरेलले बालबालिकाका लागि लगानी वृद्धि गर्दै जाने प्रतिवद्वता जनाउनुभयो । बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्द्धन गर्न गराउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तह सबैले आउँदो वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न आवश्यक रहेकोे औल्याउँनुभयो।
राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा झापाको कनकाई नगरपालिकामा अन्तर्कृया तथा मा.वि. तह स्तरीय नृत्य प्रतियोगिताका साथै सास्कृतिक कार्यक्रम समेत गरिएको छ ।
“सुनिश्चित बालमैत्री बानी ,व्यवहार,सुखी र समृद्व कनकाईको आधार “ नाराका साथ कनकाई बाल सन्जालको आयोजनामा बालबालिकामा लगानी सुनिश्चित भविस्यको थालनी भन्ने मुल नारा राख्दै अन्तर्कृया,मा.वि. तह स्तरीय नृत्य प्रतियोगिताका साथै सास्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।
कनकाई ३ स्थित सुरुङ्गा जेसिजको हलमा कनकाई नगर बाल सन्जालका अध्यक्ष अभिषेक मिश्रको सभापतित्वमा भएकोे कार्यक्रममा नगर उपप्रमुख आशाशर्मा शिवाकोटीको प्रमुख आतिथ्यता रहेकोे थियोे । शिवाकोटीले केही बालबालिकाहरू अझै पनि आफ्नो बालअधिकारबाट वञ्चित भएको अवस्था रहेकाले उनीहरूको उचित संरक्षण र रेखदेख गर्न सबैको कर्तव्य भएको बताउनु भएको छ । उहाँले बाल यौन दुर्व्यवहार, बालबालिकाविरूद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचविखन तथा अनाधिकृत ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घरपरिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य भएको सुझाउनु भएको छ ।

नगर बाल कल्याण अधिकारी उमानाथ ढकाले बालबालिकाको सुखी, खुसी, समृद्ध र बालमैत्री जीवनयापनको कामना गर्दै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयोको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल ,शिक्षा शाखा प्रमुख पिताम्वर गौतम लगायतले आ-आफ्नो धारणा राख्नुभएको थियोे ।
कार्यक्रममा मा.वि. तह स्तरीय नृत्य प्रतियोगिता अन्तर्गत नगरका १३ निजी तथा सामुदायिक विध्यालय सहभागी मध्ये हरिकुल नमुना विध्यालय सुरुङ्गा प्रथम, मेरिगोल्ड अङ्ग्रेजी विध्यालय सुरुङ्गा द्वितीय तथा आदर्श विध्यामन्दिर घैलाडुब्बा तृतीय भएको नगर बाल सन्जालका अध्यक्ष मिश्रले जानकारी दिनुभयो । प्रथम , द्वितीय र तृतीय हुने विध्यालयहरुलाई ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गर्नुका साथै सहभागी सबै विध्यालयलाई प्रमाणपत्र उपलब्ध गराएको थियोे ।
कार्यक्रममा विभिन्न विध्यालयका विध्यार्थीद्वारा बिज्ञान प्रदर्सनीका विभिन्न कला समेत प्रदर्सन गरिएको थियोे ।

कनकाई नगर बाल सन्जालका सदस्य सुजल मैनालीले स्वागत तथा औचित्य माथी प्रकाश पारेको कार्यक्रमको पहिलो सत्र नगर बाल सन्जालका उपाध्यक्ष अश्लेता कडेल र सह-सचिव प्रजवल आचार्यले सन्चालन गरेका थिए भने सास्कृतिक कार्यक्रमको सन्चालन सचिव अभिषक बुढाथोकी र सदस्य रुजा कडेलले संयुक्त रुपमा गरेका थिए ।
त्यस्तै ,कनकाई ८ वडा कार्यालय र सुर्यज्योती वडा बाल सन्जालको संयुक्त आयोजनामा अन्तर मा.वि. हाजिरी जवाफ प्रतियोगितामा सम्पन्न भएको छ।
वडा अध्यक्ष लिलाबहादुर कटुवालको सभापतित्वमा भएकोे कार्यक्रममा नगर उपप्रमुख आशाशर्मा शिवाकोटीको प्रमुख आतिथ्यता रहेकोे थियोे ।

अन्तर मा.वि. हाजिरी जवाफ प्रतियोगितामा सहभागी विद्यालयहरु मध्ये माउन्ट अन्नपूर्ण एजुकेसन फाउन्डेसन कनकाई ८, पाथीभरा एकाडेमी कनकाई ८ र हिमाली माध्यमिक बिद्यालय कनकाई ८ ले क्रमशः प्रथम,द्वितीय र तृतीय स्थानको नतिजा प्राप्त गर्न सफल भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी वडा अध्यक्ष कटुवाल वडाका जनप्रतिनिधि तथा कर्मचारीहरुद्वारा प्रथम , द्वितीय र तृतीय हुने विध्यालयहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियोे ।
