झापा / गत भदौ १२ गते साँझ भद्रपुर नगरपालिका वडा नं. ७ को चन्द्रगढी हुँदै फूलबारी टोल जाने बाटो छेउको झाडीमा बेवारिसे अवस्थामा फेला परेका शिशुको अभिभावकत्वको जिम्मा विराटनगर १३ का चिकित्सक दम्पत्ती सुनित अग्रवाल र अंकिता राठीलाई दिईएको भद्रपुर नगरपालिकाले जनाएको छ ।

भद्रपुर नगरपालिकाले अभिभावकत्व लिन चाहनेहरुको निवेदन उपर छलफल गरी विराटनगरका चिकित्सक दम्पतीलाई सो बच्चाको अभिभावकत्व दिने निर्णय गरेको हो ।

अभिभावकत्व लिनका लागि पाँच दम्पतीले निवेदन परेको थियो । इलाम २ का मनकुमार तामाङ र नानु तामाङ , भद्रपुर १ का पर्शुराम लुइटेल र इश्वरादेवी बिमली , अर्जुनधारा ६ का खगेन्द्रराज खरेल र गीता अधिकारी खरेल तथा भद्रपुर ४ का सन्तोष बस्नेत र मिना दाहाल बस्नेतले अभिभावकत्व लिनका लागि निवेदन दिएको बताइएको छ । नगरपालिकाले गत भदौ २४ गते एक सूचना जारी गरी अभिभावकत्व दिने गरी प्रक्रिया शुरु गरेको थियो ।

हकदावीका लागि तोकिएको १० दिनको म्यादभित्र शिशुलाई दावी गर्न आमाबुवा नआएपछि नगरपालिकाले अरुलाई अभिभावकत्व दिने गरी प्रक्रिया शुरु गरेको थियो । त्यसअन्तर्गत नगरपालिकाबाट बालकको वैकल्पिक हेरचाहका लागि सूचीकृत हुन आउन सात दिने सूचना जारी भएको थियो । ती बालकको पालनपोषण, स्वास्थ्य उपचार, शिक्षा तथा बालकको उच्चतम हित सुनिश्चित हुने समेतका कार्यहरुमा अहित नहुने गरि वैकल्पिक हेरचाह गर्न चाहने बालकको आमा वा बुबातर्फका नातेदार, बालकलाई हेरचाह गर्न इच्छुक परिवार वा व्यक्ति, बालकलाई परिवारमा आधारित हेरचाह गर्ने संस्था वा बालगृह समेतले तोकिएको प्रमाण कागज संलग्न राखि सात दिनभित्र निवेदन पेश गर्न नगरपालिकाले सूचना जारी गरेको थियो ।
। ती शिशुलाई अभिभावकत्व लिन डाक्टर , इन्जिनियर , प्राध्यापक , उद्योगी , व्यवसायी , राजनीतिकर्मीलगायत गरी करिव सयजना इच्छुक देखिएपनि पाँच दम्पतीले मात्र सूचीकृत गराएका थिए ।