विद्यालय बन्द गरेर देशभरका शिक्षक आन्दोलन गर्न काठमाडौंमा
काठमाडौं , ३ असोज / विद्यालय बन्द गरेर देशभरका शिक्षकहरु यतिबेला काठमाडौं पुगी सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा सडक अान्दोलनमा उत्रेका छन ।
नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरुले आज देखि राजधानी केन्द्रीत आन्दोलन सुरु गरेका हुन । शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै महासंघले काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दा देशभरका हजारौं शिक्षकहरु काठमाडौंमा पुगी सडक अान्दोलनमा उत्रिएका हुन ।
विभिन्न १८ बुँदे असहमतिसंगै सरकारलाई घच्घच्याउन राजधानीमा भेला भएका शिक्षकहरुले हात हातमा आफना मागसहितको प्लेकार्ड बोकेका थिए भने चर्को स्वरमा “विद्यालय शिक्षा विधेयक खारेज गर, योगदानमा आधारित पेन्सन चाहिन्न, साविककै पेन्सन कायम गर” जस्ता नारा लगाएका थिए । उनिहरु माइतीघर मण्डलामा भेला भई सरकारको कदमको विरोध गर्दै, सरकारविरुद्ध चर्को नारा लगाउँदै बानेश्वरसम्म पुगेका थिए ।
शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गर्दै आन्दोलन घोषणा गरेका हुन् । माग सम्बोधन नभएसम्म ७७ वटै जिल्लाका करिब १ लाख १० हजार शिक्षक राजधानी केन्द्रीत आन्दोलनमा सहभागी हुने नेपाल शिक्षक महासंघले जनाएको छ । आन्दोलनलाई सबै राजनीतिक दलको शिक्षक संघ–संगठनले पनि समर्थन गरेका छन् । संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई स्थानीय तहमा राख्ने व्यवस्था गरेकोमा उनीहरुको असहमति छ । नेपाल शिक्षक महासंघलाई सरकारले वार्तामा बस्न आह्वान गरेपनि उनीहरुले अस्वीकार गरेका छन । शिक्षकहरुले प्रधानमन्त्री, संसदीय दलका नेता र प्रमुख सचेतकसँग मात्रै वार्ता गर्ने बताएका छन् । आन्दोलनका कारण देशभरका करिब ३० हजार विद्यालय ठप्प भएको छ भने करिब ७० लाख विद्यार्थी पढ्नबाट वञ्चित भएका छन् । महासंघले निजी विद्यालय पनि बन्द गर्न आह्वान गरेको छ । देशभर करिब ७ हजारको हाराहारीमा निजी विद्यालय रहेका छन् ।