अन्तर वडा पुरुष भलिवल प्रतियोगितामा कनकाई ३ विजयी

ठोस खबर / झापाको कनकाईमा कनकाई नगर खेलकुद विकास समितिको आयोजनामा भएको अन्तर वडा पुरुष भलिवल प्रतियोगितामा कनकाई वडा नं. ३ विजयी भएको छ ।
ग्लोवल एडुकेयर एकाडेमी सुरुङ्गाको खेल मैदानमा शनिवार सम्पन फाईनल खेलमा वडा नं. ५ लाई हराउदै वडा नं. ३ बिजय भएको हो ।

वेष्ट अफ फाएभको सेटमा भएको प्रतियोगितामा कनकाई तिनले पहिलो सेट २५ – २० ले जित्यो भने दोस्रो र तेस्रो सेट कनकाई ५ ले क्रमश २५ – १९ र २५ – २२ ले जित्यो । चौथो सेटमा पुन कनकाई ३ को टिमले लयमा फर्कदै ५ लाई २५ – १६ को फराकिलो अन्तरले हराएर दुई दुई सेटको बराबरी भएपछि भएको पाचौं सेटमा कनकाई ३ ले १५ – ११ ले ५ लाई हराउँदै कनकाई ३ बिजेता बनेको हो ।
प्रतियोगितामा बिजेता टिमले २१ हजार नगद , ट्रफी ,मेडल र प्रमाण पत्र प्राप्त गर्यो भने उप विजेता टिमले १५ हजार नगद , ट्रफी , मेडल र प्रमाण पत्र प्राप्त गर्यो । विजेता उपविजेता दुबै टिमलाई कार्यक्रमका प्रमुख अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , कनकाई ३ , ५ र ७ का वडा अध्यक्ष क्रमश युवराज चम्लगाई र कृष्णबहादुर राई , भीष्मभुषण सिटौला, कनकाई खेलकुद विकास समित संयोजक जविन तिम्सिना, कोशी प्रदेशकी भलिबल प्रशिक्षक हेमा थापा, एमालेका कनकाई नगर अध्यक्ष खडग प्रसाई, कांग्रेसका कनकाई नगर सचिव रेणु कडेँल लगायातले नगद तथा ट्रफि प्रदान गर्नुभयो ।

प्रतियोगितामा कनकाई ३ का अनिस निरौला उत्कृष्ट खेलाडी घोषित भए । तेस्तै वेस्ट ब्लकर कनकाई ३ कै सुजन बस्नेत घोषित भए भने वेस्ट स्पाइकर कनकाई ५ का खेलाडी अभिषेक धिमाल घोषीत भए । विधागत रुपमा उत्कृष्ट तिनै खेलाडीलाई अायोजकले मेडल र ट्रफी प्रदान गर्यो ।
फाईनल खेल सुरु हुनु पुर्व खेल मैदान प्रदानकर्ता ग्लोबल एडुकेयर एकाडेमीको महिला भलिबल टिम र बिर्तामोडको अादर्श होटल म्यानेजमेन्टको महिला भलिबल टिम विच मैत्रीपुर्ण खेल खेलाईएको थियोे । वेस्ट अफ थ्री कोसेटमा खेलाइएको मैत्रीपुर्ण खेलमा अादर्शले ग्लोबललाई २५ – १२ र २५ – ११ को सोझो सेटले हराएको थियो । विजेता अादर्शलाई अायोजकले ट्रफी प्रदान गरेको थियोे ।

प्रतियोगितामा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरको महिला फुटबल खेलले देशमै चर्चा कमाइरहेको बताउँदै अब भलिबल खेलले समेत देशमा चर्चा कमाउने विश्वास व्यक्त गर्नुभयो । नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिकाले हरेक खेलकुदका गतिविधिलाई अगाडि बढाइरहेको बताउँदै प्रदेशस्तरीय र राष्ट्रिय खेलकुदमा समेत कनकाईबाट सहभागिता हुने गरेको बताउँनुभयो ।
भलिबलको कनकाई नगर स्तरीय टिम तयार पार्नका लागि यो अन्तर वडा स्तरीय भलिवल प्रतियोगिताको आयोजना गरिएको कनकाई नगर खेलकुद विकास समितिका संयोजक जविन तिम्सिनाले बताउँनु भयो ।

प्रतियोगिताबाट कनकाई १ का २ , कनकाई ३ का ४ , कनकाई ४ का ५ , कनकाई ५ का ३ , कनकाई ७ र ८ का २,२ गरि १८ जनालाई नगर स्तरिय पुरुष भलिवल टिममा छनौट गरिएको कनकाई नगर खेलकुद समिति सदस्य तथा प्रतियोगिताका संयोजक दुर्गा पाठक (राजुले ) जानकारी गराउनु भयो ।
