बिर्तामोड / सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले अाफ्नो २७ औं वार्षिक साधारणसभाको माइन्यूट प्रमाणिकरण कार्यक्रमको अवसरमा सहकारी अभियान्ता एवम् विज्ञ कैलाशभक्त प्रधानांग साथै पत्रकार सन्तोष न्यौपानेलाई पुरस्कृत गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि सभामुख देबराज घिमिरेले प्रधानांगलाई ‘राष्ट्रिय व्यक्तित्व पुरस्कार’ र पत्रकार सन्तोष न्यौपानेलाई उत्कृष्ट सहारा पत्रकारिता पुरस्कारबाट सम्मानित गर्नुभएको हो । प्रधानांगले प्राप्त गरेको पुरस्कारको नगद राशी एक लाख एक हजार र पत्रकार न्यौपानेले प्राप्त गरेको पुरस्कारको नगदराशी २५ हजार रहेको छ ।

भक्तपुर निवासी प्रधानांगलाई नेपालको सहकारी आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याए वापत पुरस्कृत गरिएको र पत्रकार नौपानेलाई पत्रकारिताको माध्यमबाट समाजमा गरेको योगदानको कदरस्वरुप पुरस्कृत गरिएको सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा आयोजित अन्तिम माइन्युट प्रमाणित साधारणसभामा प्रमुख अतिथि सभामुख देवराज घिमिरेले सहारा नेपालले गरिरहेको रचनात्मक कार्यको प्रशंसा गर्नुभयो ।

घिमिरेले सहारा नेपाल साकोसले आपत विपतमा परेकाहरुका लागि नाम अनुसारको सहारा प्रदान गरिरहेको पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो ।

समारोहमा राष्ट्रिय सहकारी व्यक्तित्व पुरस्कार प्राप्त गरेका सहकारी विज्ञ प्रधानाङ्गले काठमाडौं उपत्यकामा सञ्चालित केही सहकारी संस्थाहरुले बदनाम गरेको टिप्पणी गर्नुभयो ।
काठमाडौंमा खुलेका केही सहकारीले गरिबको रकम खाएर भागेको बताउनुभयो ।
समारोहमा सहकारीकर्मीहरु गणेश ढकाल, घनश्याम अधिकारी, निमित्त प्रदेश रजिष्ट्रार हरिबहादुर खत्री, गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशी, रेडक्रसकर्मी लोकराज ढकाल लगायतले धारणा राख्नुभएको थियो ।