मोरङ्ग ,अमरदह / राजवंशी जिल्ला समिति मोरङ्गको अायोजनामा मोरङ्गको सुनवर्षी नगरपालिका २ अमरदहमा हुकाहुककी पर्व भव्य रुपमा सम्पन्न भएको छ ।

लक्ष्मीपूजाको दिन तराईको झापा, मोरङ र सुनसरीमा मुख्य रुपमा बसोबास गर्दै आएका राजवंशी कोच समुदायले आआफ्नो धान खेतमा हुकाहुकी खेल्ने भए पनि कार्यक्रमका रुपमा मोरङको सुनबर्षी नगरपालिका–२ अमरदहमा शनिबार काग तिहारका दिन हुकाहुकी उत्सव मनाएका हुन ।

कार्यक्रममा राजवंशी समाज विकास समिति केन्द्रिय अध्यक्ष अभय राजवंशीले राजवंशी समुदायहरूले तिहारमा धुमधामका साथ लक्ष्मी माताको पूजा अर्चना गर्ने गरेको वताउदै माटो र बाली सँग निकट सम्बन्ध राखेर कृषि पेशामा आवद्ध राजवंशी समुदायहरूले धानबालीलाई लक्ष्मीको रुपमा मान्ने गरेको जानकारी गराउनु भयो।

दुख गरेर लगाएको धानबाली कीरा फट्याङ्ग्राले नष्ट गर्ने भएकाले कीरा लगायतका जीवलाई भगाउन धान खेतमा सनपाटको सुन्टी द्वारा बनाइएको राँकोमा आगो बालेर खेतको आलीमा दौडँदा कीरा फट्याङग्रा हरु आगोमा आएर मर्ने र कीराहरू सो स्थान छोडेर भाग्ने गर्नाले बाली जोगिने भएकाले दिपावलीको दिन सोरा सोरा भन्दै खेतबारीमा राको बोकेर हिड्ने परम्परागत चलनलाई नै राजवंशी भाषामा हुकाहुकी भन्ने गरेको पनी राजवंशी समाज विकास समिति केन्द्रिय अध्यक्ष अभय राजवंशीले जानकारी गराउनु भयो ।

राजवंशी समुदायको एक सांस्कृतिक पहिचानको रुपमा स्थापित हुकाहुकी मनाउने परम्परागत कार्यलाई जीवन्त दिन र आँउदो पुस्तालाई हुकाहुकी को महत्व र आवश्यकता दर्साउन विगतका दुई वर्ष देखि औपचारिक रुपमा हुकाहुकी कार्यक्रम आयोजना हुँदै आएको अध्यक्ष राजवंशीको भनाई छ ।

विविध सांस्कृतिक नृत्यसहित आयोजना भएको कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कार्यक्रममा सम्बोधन गर्दै सात प्रदेश मध्ये कोशी प्रदेश मात्र नेपालमा पाईने सबै जातजाती, भाषाभाषी रहेको , प्राकृतिक सौदर्यता , प्राकृति विकटता , प्राकृति सुगमता भएको प्रदेश भएको र यस क्षेत्रको विकासको निम्ति विभिन्न संस्कृतिहरुको विकास गर्नु , संरक्षण र पर्वर्द्बन गर्नु सरकारको काम भएकोले त्यसको लागि सरकार पछि नपर्ने वताउनु भयो ।

राजवंशी समाज विकास समिति केन्द्रको समन्वय, मोरङ जिल्ला समितिको आयोजना, कोच राजवंशी समाज युएईको सह आयोजनामा आयोजित हुकाहुकी सांस्कृतिक समारोहमा भारतबाट समेत कलाकार आएका थिए । भारतबाट अाएका दुई सय जना कलाकारहरूले मौलिक नृत्य प्रस्तुत गरेका थिए भने नेपालका विभिन्न पालिकाबाट आएका स्थानीय कलाकारहरूले दर्जनौँ नृत्य तथा गायन प्रस्तुत गरेका थिए ।