ताप्लेजुङ ,१० मंसिर / पहिचान पक्षधरले नेकपा एमाले सचिव योगेश भट्टराई सवार गाडीमा तोडफोड गरेका छन ।

आइतबार ताप्लेजुङमा अायोजीत नेकपा एमालेको कार्यक्रममा संबोधन गरेर पाँचथरतर्फ फर्कने क्रममा फुङलिङ नगरपालिका ४ तोक्मेडाँडा बसपार्क नजिकै भट्टराई सवार प्रदेश २-०१००१ च ४० नम्बरको गाडीमा पहिचान पक्षधर समूहले ढुंगा प्रहार गरेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी राजन लिम्बुले जानकारी दिए ।

कार्यक्रम सकेर फर्किदै गर्दा कार्यक्रम स्थलभन्दा डेढ किल‍ोमीटर पर होटलमा बसेका पहिचान पक्षधरले अवरोध गरेको बेला एकजनाले परबाट गाडीमा ढुंगा हान्दा भट्टराई सवार गाडीको सीसा फुटेको र ढुङ्गा प्रहार गर्नेको खोजी भइरहेको डीएसपी लिम्बुले जानकारी दिए ।

यसअघि एमाले प्रदेश सांसद तिलकुमार मेन्याङवो, माओवादी नेता इन्द्रबहादुर आङ्वो सवार सवारीमा पनि पहिचान पक्षधर कार्यकर्ताले आक्रमण गरेका थिए ।
प्रदेश १ पुन: नामांकन संयुत्त संघर्ष समितिले कोशी प्रदेश नामको खारेजीको माग गर्दै आन्दोलन गरिरहेको छ ।