चन्द्र बस्नेत / जेष्ठ नागरिक कनकाई वडा नं. ७ ले वडाका १६ जना जेष्ठ मातापितालाई सम्मान गरेको छ।
बिहिवार एक कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिक वडा समितिले वडामा रहेका सबै भन्दा जेष्ठ ८ जना माता र ८ जना पिता, जेष्ठ नागरिक भवन निर्माणका जग्गा दाता र चन्दा दातालाई समेत सम्मान गरेको हो । कनकाई–७ स्थित जेष्ठ नागरिक भवनमा आयोजित कार्यक्रममा माताहरु मनमाया उप्रेती, नरमाया शिवाकोटी, डम्मरकुमारी पोखरेल, वचरीमाया तामाङ, सेती माया तामाङ, पार्वती आङथोपो, वुदिन मुर्मु, सुकमाया तामाङलाई सम्मान गरेको हो ।

त्यस्तै, ज्येष्ठ पिताहरु खड्गप्रसाद शिवाकोटी, भीमप्रसाद प्रसाईं, नारायणप्रसाद ओली, ललितप्रसाद उपरकोटी, टेकबहादुर बोहरा, टेकबहादुर दाहाल, रोहिलीप्रसाद गौतम, चन्दा दाता वावुलाल मुर्मु, जग्गा दाता खड्गबहादुर भुजेल लगायतलाई सम्मान गरिएको जेष्ठ नागरिक वडा सभापति हरिप्रसाद शिवाकोटीले जानकारी दिनुभयो ।

जेष्ठ नागरिक वडा नं. ७ का अध्यक्ष हरिप्रसाद शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख पोखरेलले जेष्ठ नागरिकहरुका लागि उहाँहरुको सम्मान अधिकार हकहितको संरक्षण, सम्वर्द्धन, प्रवर्द्धन र परिपूर्ति गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । साथै, जेष्ठ नागरिकका लागी जेष्ठ नागरिक सम्बन्धी कानून र नीतिमा भएका कानूनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको पनि बताउनुभयो ।

विशेष गरेर एकल तथा साहाराविहीन जेष्ठ नागरिकको संरक्षणको आवश्यक भएका मातापिताको संरक्षण र सम्बर्द्धन गर्न सम्बन्धित पालिकाबाटै वैकल्पिक हेरचाह र परिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको उहाँले बताउनुभयो । उहाँले आगामी दिनमा जेष्ठ मातापिताका लागि लगानी वृद्धि गर्दै जाने प्रतिवद्वता जनाउनुभयो । नगर प्रमुख पोखरेलले जेष्ठ नागरिकको पोषण, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत अधिकारसहित सबै प्रकारका अधिकारको संरक्षण र संवर्द्धन गर्न÷गराउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तह सबैले आउँदो वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी जेष्ठ नागरिकहरुमा लगानी वृद्धि गर्न आवश्यक रहेकोे औल्याउनुभयो ।

कार्यक्रमका विशिष्ठ अतिथि नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले जेष्ठ नागरिकहरुको खुसी नै आफुहरुको सन्तुष्टि भएकाले जेष्ठ मातापिताहरुको सुखी एवम् खुशी जीवनयापनको कामना गर्दै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा वडा न ७ का वडा अध्यक्ष भिस्मभुषण सिटौलाले जेष्ठ नागरिक तथा अग्रजहरुले पुर्‍याउनु भएको योगदान प्रति सम्मान र आदर गर्नु नै आफुहरुको संस्कार रहेको बताउनुभयो ।

कार्यक्रममा जेष्ठ नागरिक नगर सभापति शम्भूप्रसाद पोखरेल, वडा सदस्य निर्मल आङथोपो, अरुणा लिम्बु, भगन टुडु, जेष्ठ नागरिक वडा न १, ३, ६ का सभापति क्रमसः ऋषिकेश खतिवडा, डिल्लीप्रसाद पाठक, पदमप्रसाद ओली, सल्लाहकार कृष्णप्रसाद ओली, सिताराम न्यौपाने, नेपाली कांग्रेस वडा सभापति ईश्वरीप्रसाद शिवाकोटी, रोहित खवास लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियोे ।

जेष्ठ नागरिक उपसमिति सयोजक सीता रिजाल ओली स्वागतसहित औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सचिव नारायणप्रसाद संग्रौलाले गर्नुभएको थियोे । कार्यक्रममा भजन कृतनको आयोजना पनि गरिएको थियो ।