कनकाई / झापाको कनकाई नगरपालिकाले यहाँका अतिविपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ । अाइतबार नगरका तीन वटा वडाका ६० जना अतिविपन्न परिवारलाई जाडोमा न्यानो कपडा अोड्ने ब्ल्याङ्केट वितरण गरेको हो ।

नगरको वार्षिक कार्यक्रम अनुसार नगरका नौ वटै वडाका अतिविपन्न परिवारलाई बर्सेनि ब्ल्याङ्केट वितरण गरिँदै आएको नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पाखरेलले जानकारी दिनुभयो । यसै कार्यक्रम अन्तर्गत अाज अाईतबार नगरका वडा नं. १, ६ र ७ का २०/२० जना अतिविपन्न परिवारलाई ब्ल्याङ्केट वितरण गरिएको हो ।

वडा नं. १ मा सो वडाका वडाध्यक्ष सुशीलकुमार पोखरेलको अध्यक्षता एवम् नगर उपप्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्यमा ब्ल्याङ्केट वितरण गरिएको थियो । कार्यक्रममा वडाध्यक्ष पोखरेलले स्वागत एवम् औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन वडा सदस्य निर्मला खड्काले गर्नुभएको थियो ।

त्यस्तै, वडा नं. ६ मा वडाध्यक्ष दीर्घबहादुर थापाको अध्यक्षता, वडा नं. ७ मा वडाध्यक्ष भीष्मभूषण सिटौलाको अध्यक्षता र दुवै वडामा नगर उपप्रमुख शिवाकोटीको प्रमुख आतिथ्यमा न्यानो कपडा वितरण गरीएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख शिवाकोटीले नगरका अतिविपन्न परिवारको जीवनस्तर उकास्न र उनीहरुको आवश्यकता पूरा गर्न नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो ।

नगर उपप्रमुख शिवाकोटीको नेतृत्वमा नगरका नौ वटै वडाका १८० जना अतिविपन्न परिवारलाई ब्ल्याङ्केट वितरण भइरहेको नगरपालिकाका कर्मचारी विजय पाठकले जानकारी दिनुभयो ।