झापा, ३ पुस / झापाको मेचिनगर १० स्थित धाइजन ढाट आसपास सडकमै डुल्दै अाएकी एक बेबारिसे महिलाको चिसोले मृत्यु भएको छ ।

मागेर खादै हिड्ने अन्दाजी ३० वर्षीया ती महिला तीन दिनदेखि धाइजन ढाटमा अासपास चिसोमा डुलिरहेकी थिइन् । चिसोले गर्दा बेहोश भएकी उनको सोही कारणले मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार अपराह्न पूर्वपश्चिम राजमार्गछेउमा उनी कठांग्रिएर बेहोश भएकी थिइन् । मेचीनगर १० का वडा सदस्य विशाल कार्कीले प्रहरीको सहयोग लिएर महिलाको उद्धार गरेर प्रादेशिक अस्पताल भद्रपुर लगेका थिए ।

ती महिलाको उपचारको क्रममा इमर्जेन्सी कक्षमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।

मृतक महिलाको आफन्त सम्पर्कमा आएका छैेनन् । उनको नाम र ठेगाना पनि खुलेको छैन । धाइजन ढाटका स्थानीयले बोलीचालीका आधारमा उनी नेपाली नै भएको बताएका छन् ।