चन्द्र बस्नेत,
सुरुङ्गा , ७ पुस / झापाको कनकाईमा  सामुदायिक कुकुर बन्ध्याकरण ३ दिवसीय  शिविर आज ( शनिबार)बाट  सुरु भएको छ ।
कनकाई नगरपालिकाले गएका वर्षहरुमा जस्तै यसवर्ष पनि आजदेखि बन्ध्याकरण शिविर सुरु गरेको हो ।

तीन दिनसम्म सञ्चालन हुने शिविरमा नगरपालिका क्षेत्रभित्रका सबै वडाबाट सामुदायिक कुकुर समातेर ल्याउने र बन्ध्याकरणसंगै रेबिज विरुद्वको भ्याक्सिन तथा आवश्यकता अनुसार अन्य औषधी उपचार गरेर छोडिने पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख तेजबहादुर पौडेलले जानकारी दिनु भयो ।

नेपाल एग्री लाइभस्टक ट्रेनिङ एन्ड रिसर्च सेन्टर ईटहरी , सुनसरीको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा यो पटक २ सय भन्दा बढी कुकुरको बन्ध्याकरण गरिने  कनकाईका भेट्नरी अधिकृत कुलवहादुर गुरुङ्ले जानकारी दिनुभयो ।

शिविर उद्घाटन कार्यक्रममा बोल्दै  कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाईमा हरेक वर्ष शिविर सञ्चालन गर्दै आएको र बर्षेनी कुकुरको प्रकोप भइरहने भएकोले हरेक वर्ष शिविर सन्चालनलाई निरन्तरता दिईदै अाएको बताउनुभयो । नगर प्रमुख पोखरेलले सामुदायिक कुकुरले बाहिर बाँधेका बाख्राका पाठा, गाईलाइ टोक्ने, मानिसलाई नै आक्रमण गर्ने गरेको र उनीहरुबाट रेबिजसमेत सर्ने भएकोले समस्या समाधानका लागि शिविर प्रभावकारी रहेको धारणा पनि राख्नु भयो ।

कनकाई नगरपालिकाले जनप्रतिनिधि निर्वाचित भएर आएसगै  हरेक वर्ष सामुदायिक कुकुर बन्ध्याकरण शिविर सञ्चालन गर्दै आएको छ । हालसम्ममा करिब २ हजार एक सय भन्दा बढी कुकुरलाई बन्ध्याकरण गरिएको जनाइएको छ । 

कनकाईका भेट्नरी अधिकृत कुलवहादुर गुरुङ्ले छिमेकी पालिकाहरुले पनि हरेक वर्ष अनिवार्यरुपमा शिविर आयोजना गरेमात्रै सामुदायिक कुकुर नियन्त्रण गर्न सकिने बताउनु भयो । शिविरमा २ जना डाक्टरसहित १६ जनाको टिम खटिएको छ ।

शिविर कनकाई वडा नं. ३ स्थित कनकाई सामुदायिक वन परिसरमा एक संक्षिप्त कार्यक्रमका विच नगर प्रमुख राजेन्द्रकुमार पोख्रेल, उप प्रमुख आशा शर्मा शिवाकोटी, पशुपंक्षी तथा मत्स्य विकास शाखा कनकाईका प्रमुख तेजबहादु पौडेल, भेट्नरी अधिकृत कुलवहादुर गुरुङ्,  वडा नम्बर २ , ३ र ४ का वडाअध्यक्षहरु क्रमशः प्रताप राई , युवराज चौलागाईं , रोषन सुवेदी कार्यपालिका सदस्य , वडा सदस्यलगायतले शिविरको उद्घाटन  गर्नुभएको थियोे ।
शिविर पुस ९ गतेसम्म सञ्चालन हुने कर्मचारी विजय पाठकले जानकारी दिनुभयो ।