सर्लाही / सर्लाहीको बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएकोझडपमा एकजनाको मृत्यु भएको छ । 

बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेस, जनमत, जसपासहितका दलले गरेको प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले गोली चलाएको थियोे । गोली लागी सोही वडाका जयशंकर साहको मृत्यु भएको हो ।

साहको मृत्यु भएपछि स्थानीय प्रशासनले शुक्रबार बेलुका ५ः३० बजेदेखि शनिबार बिहान ८ बजेसम्म कार्फ्यू आदेश जारी गरेको छ ।

बरहथवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुंगामुढा प्रहार, उच्छृंखल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जारी गरेको कर्फ्यू आदेशमा उल्लेख गरिएको छ ।

बरहथवा नगरक्षेत्र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती÷चोर्निया पुल क्षेत्रभित्र कर्फ्यू आदेश गरिएको छ ।