झापा , १२ चैत / नहरमा पौडी खेल्दा डुबेर एक किशोरको मृत्यु भएको छ ।

सोमवार दिउँसो साढे २ बजेतिर शिवसताक्षी ११ स्थित कनकाई नहरमा साथीहरुसंग पौडी खेल्न गएका शिवसताक्षी ११ श्रृष्टि टोल बस्ने बर्ष १५ का रविन श्रेष्ठको डुबेर मृत्यु भएको हो ।

अरुले पनि पौडी खेलिरहेका ठाउँमा रविन पनि पौडी खेल्न गएको र नहरमा पस्नेबित्तिकै उनलाई बगाएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए । नहरले बगाई सोही वडाको साईफनस्थित नहरमा रहेको फलाममा अड्की श्रेष्ठको शव पानीमा डुबिरहेको अबस्थामा स्थानीयले देखेर ईप्रका झिलझिलेमा जानकारी गराएका थिए । किशोरको लाशलाई पानीबाट बाहिर निकाली पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।