बिर्तामोड , १८ चैत / जिल्ला सहकारी संघ झापाले ६७ औं राष्ट्रिय सहकारी दिवस बृहत रुपमा मनाउने भएको छ ।

‘सहकारीमा सुशासन,  प्रविधि र एकीकरण’ भन्ने मूल नाराका साथ जिल्ला सहकारी संघ झापाले चैत २० गते झापाको बिर्तामोडमा ६७ औं राष्ट्रिय सहकारी दिवस मनाउने भएको हो ।

संघले बिर्तामोडमा आइतवार पत्रकार सम्मेलन गर्दैै ६७ औं सहकारी दिवसको तयारीका वारेमा जानकारी गराएको छ ।संघका अध्यक्ष गणेश ढकालले यस वर्ष २९ वटा नारासहित वृहत रुपमा सहकारी दिवस मनाउन लागिएको बताएका छन् ।
सहकारी क्षेत्रमा पछिल्लो समय केही समस्या देखिएको बताउँदै अध्यक्ष ढकालले सहकारी संस्थाको एकीकरणका लागि राज्यले पनि सहयोग गर्नु पर्नेमा जोड दिदै एकीकरणका माध्यमवाट सहकारी संस्थालाई बलियो बनाउन सकिने वताउनु भयो । सहकारीले बैंकिङ कारोवार भन्दा उत्पादन र वजारलाई जोड्नु पर्ने अध्यक्ष ढकालको भनाई छ । सहकारी  सुशासनमा आधारित हुनु पर्ने बताएका ढकालले यस वर्ष सहकारी एकीकरणको अभियानलाई तीब्र बनाइने बताए ।

पत्रकार सम्मेलनमा सहकारीलाई सुरक्षित बनाउन सुरक्षाका ५ वटा क्षेत्रलाई समेटेर स्मारिक प्रकाशन गर्न लागिएको ढकालले बताए । ‘अहिले सहकारी र अन्य वित्तीय संस्थाको ऋण खाएको मान्छे ऋण नतिरी एसीसहितको कारमा हिँडिरहेका छन्’, उनले भने , ‘तर, सहकारी संस्थाको सञ्चालक भएकै कारण जेल जानुपर्ने अवस्था रहेको छ ।’ सहकारीमा देखिएको चुनौती र समस्या चिर्दै अघि बढ्न पनि सहकारी दिवसलाई पृथक र भव्य तरिकाले मनाउन लागिएको उनले बताए।

संघले सहकारीमाथि भइरहेको आक्रमणलाई निस्तेज गर्न सहकारी व्यवसायको सुरक्षामा केन्द्रित भई संघका सदस्य संघ/ संस्थाको माग बमोजिम बिर्तामोडमा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहाकार समिति, उप–समिति, कर्मचारी र सदस्यसहित १० औं हजार सहकारीकर्मीहरुको उपस्थितिमा भव्यताका साथ मनाउने तयारी गरेको हो ।

दिवसलाई सफल बनाउन अध्यक्ष गणेश ढकालको संयोजकत्वमा ५०१ सदस्य मुल समारोह समिति, ४१ सदस्यीय सचिवालय गठन गरी प्रचार–प्रसार र कार्यक्रमको भव्य तयारी गरिएको छ । कार्यक्रममा २०० जना स्वयंसेवक परिचालन हुनेछन् ।

सहकारी दिवसका दिन चैत २० गते बिहान बिर्तामोडका चार स्थान महानन्द चौक , भगवान चौक , बिर्ता वजार र बस पार्क क्षेत्रबाट प्लेकार्ड , व्यानर र झाकी सहितको र्यालीको आयोजना गर्दै कार्यक्रम स्थल सीटी सेन्टरमा पुगी सभामा परिणत हुने बताइएको छ । कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको प्रमखु आतिथ्य रहने संघले जनाएको छ । कार्यक्रममा सहकारी व्यक्तित्व मिनराज कडेललाई सम्मान गरीने पनि अायोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा संघका सञ्चालक समिति सचिव भवानी प्रसाद दंगाल , सदस्य कृष्ण पौडेल,  केशव वस्नेत, व्यवस्थापक सञ्जु देवान लगायतको उपस्थिति रहेको थियो ।