झापा, ४ जेठ / कोशी प्रदेशको मन्त्रीमण्डलमा थपिएकी झापाकी बन्दना झागर , झागर समुदायबाटै पहिलो मन्त्री बनेकी छन । कोशी प्रदेशमा बनेको १० सदस्यीय मन्त्रीमण्डलमा उनलाई पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिएको छ ।
मन्त्रीमण्डलमा उनी पनि सामेल हुनुको मतलब अब उनले नीतिगत तहमा आफ्नो कुरा राख्नेछिन् । आफ्नो समुदायको हित अनुकूल निर्णय गराउन प्रयास गर्नेछिन् ।

झापा, मोरङ र सुनसरीमा यो समुदायको बसोबास छ । ‘हाम्रो समुदायभित्र झागर, उराउ समुदाय छ । त्यसभित्र झागर खडिया समुदाय छ । म त्यो समुदायमा पर्छु । त्यो समुदाय अहिले झापा, मोरङ र सुनसरीमा ७ हजारजति छन्,’ उनले सुनाइन् ।

झागरका अनुसार उनी पहिलो पटक त्यो समुदायबाट मन्त्री बनेकी हुन् । ‘हामीले हिजोको जनयुद्धमा पनि यही कुरा उठाइरहेका थियौँ । उत्पीडित समुदायको मुक्तिको कुरा उठाइरहेका थियौँ, जुन समुदायबाट म पहिलो मन्त्री बनेको छु । म अत्यन्तै खुसी छु,’ उनले भनिन् ।

उनी २०६० सालमा माओवादीमा पूर्णकालीन कार्यकर्ता भएर भूमिगत भएकी थिइन् । ‘म लडाइँमा सहभागी भइन् । साङ्गठनिक जिम्मेवारीमा थिएँ,’ विगत कोट्याउँदा उनले भनिन् ।

२०७९ मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक कोटाबाट झागरलाई माओवादीले सांसद बनाएको हो । प्रदेश सभामा प्रतिनिधित्व गर्ने झागर सबैभन्दा कम उमेरकी सांसदसमेत हुन् । उनी अहिले ३७ वर्ष पुगिन् ।