सुरुङ्गा , ६ जेठ / झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा जेठ ८ गते बा सँग बालबालिका अन्तर संवाद कार्यक्रम हुने भएको छ ।

कनकाई नगरपालिकाको मुख्य सहयोग , व्यवस्थापन र झापाका अन्य पालिकाको समेत सहयोगमा झापा जिल्ला बाल सञ्जालको आयोजना तथा आई.वाई डायनामिक इनटरनेशनलको सहकार्यमा जेठ ८ गते सुरुंगा स्थित कनकाई उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम आयोजना गर्ने तयारी गरिएको अाईतबार सुरुङ्गामा पत्रकार भेटघाट कार्यक्रममा गरि अायोजकले जानकारी गराएको छ ।

कार्यक्रममा बालबालिकाले उठान गरेका प्रश्नको जवाफ दिन पूर्व प्रधानमन्त्री केपी शर्मा ओली (केपी बा) लाई प्रमुख अतिथिको रुपमा अामन्त्रण गरिएको आयोजक संस्था झापा जिल्ला बाल सञ्जालका अध्यक्ष अभिषेक मिश्रले बताएउनु भएको छ ।

झापाका बालबालिकाका प्रतिनिधिहरूको उपस्थिति रहने कार्यक्रममा बाल सञ्जालमा आवद्ध बालबालिकाहरूले केपी बा को दूरदृष्टि वा योजना सुन्ने , बालबालिकाहरूले आवाज, अपेक्षा र आवश्यकता बारे केपी बालाई जानकारी गराउने , केपी बा र बालबालिका बीच अनुभव तथा सिकाइ आदन प्रदान हुने , विगत, वर्तमान र भविष्य बारे केपी बा का बिचारहरू सुन्ने कार्यतालिका रहेको सञ्जालका अध्यक्ष मिश्रले पत्रकार भेटधाटमा बताउनु भयो ।

झापाका १४ वटा पालिकाबाट ३०/३० जना र अरु कनकाईका गरी छ सय बालबालिकाको सहभागिता रहने कार्यक्रम सम्पन्न गर्न रू ५ लाख ३७ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको कार्यक्रम व्यवस्थापन समितिका सदस्य रविन्द्र लम्सालले बताउनुभयो । पालिकागत रुपमै बालबालिकाले आफ्ना समस्या र प्रश्न राख्ने कार्यक्रममा प्रत्यके पालिकाको टोलीसँग छुट्टाछट्टै अनौपचारिक कुराकानी गर्ने कार्यक्रम समेत रहेको लम्सालले बताउनुभयो ।

संविधानमा सुनिश्चित भएको बालअधिकार कार्यन्वयनको पक्ष र सामाजिक तथा पारिवारिक अवस्थामा बालबालिकाले भोग्दै आएको समस्याहरूमाथि नीति निर्माणको तहमा रहेका राजनीति नेतृत्व समक्ष प्रश्न गर्ने र नीतिगत रुपमा बालबालिकाको मुद्दालाई सम्बोधन गर्नको लागि राजनीति नेतृत्वको तर्फबाट प्रतिवद्धता र कार्यन्वयन गर्न तर्फ कार्यक्रमले मद्दत पुर्याउने भएकाले कोशी प्रदेशमै पहिलो पटक बासँग बालबालिका कार्यक्रम आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा झापा जिल्ला बाल सञ्जालका अध्यक्ष अभिषेक मिश्रले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका अध्यक्ष विश्वनाथ बरालले बालबालिकाको अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यो कार्यक्रमले नीतिगत तहमै बालबालिका क्षेत्रमा काम गर्न दबाब सिर्जना हुनेमा विश्वास व्यक्त गर्नुभयो । अन्य जिल्लाको तुलनमा झापामा बाल सञ्जाल बढी सक्रिय भएको चर्चा गर्दै बरालले बालबालिकामा सानैदेखि सकारात्मक ऊर्जा भर्न जरुरी रहेको वताउनु भयो ।

कार्यक्रममा श्रव्यदृश्य प्रस्तुति गर्ने , कनकाई नगरपालिकाको बालमैत्री अभियानबारे जानकारी दिने साथै बालबालिकाहरूले गायन तथा नृत्यहरू समेत प्रस्तुत गर्ने कनकाई नगरपालिकाका बालकल्याण अधिकारी उमानाथ ढकालले जानकारी दिनुभयो । ढकालले कनकाई नगरपालिका क्षेत्रमा बाल अधिकार हनन् भएको जानकारी पाएको खण्डमा सुन्य सहनशीलता अपनाई कठोर बनेर जुनसुकै वर्ग व्यक्तिबाट बाल अधिकार हनन् भएको छ उक्त व्यक्तिलाई कानुनी कारवाहीको लागि नगरपालिकाले कदम चाल्ने समेत जानकारी गराउनु भयो ।