चन्द्र बस्नेत , ठोस खबर / बाँसको लिङ्गो, केराको खम्बा ! नुहाउन आयौँ देउताको धाममा !! जै हर हर, जै हर हर ! रक्षा गर, क्षमा गर !!
पानफूल दियौँ, पानफूल खाउ है ! सयौँ वर्षको आयुत्रा देउ है !!
सै राजा सै सै, सै रानी सै सै…..
यही भाका तथा बोलको गीत र ढोल, झ्याम्टा एवं ढ्याङ्ग्रोको तालमा धार्मिक तथा पर्यटकीयस्थल झापाको सताक्षीधाममा ढोलेतालेसहित धामीझाँक्री हरुको र्याली सहितको भेला सोमबार सम्पन्न भएको छ। साउन लागेसँगै गुप्तवास बसेका धामीझाँक्री श्रावण शुक्ल पूर्णिमाको दिन सोमबार धार्मिकस्थल झापाको झिलझिलेमा रहेको प्रवेशद्वार बाट सताक्षीधाममा गएर नुहाउनाका साथै पूजाआजा गरेर बिद्धे (ज्ञान) प्राप्तिका लागि प्रार्थना समेत गरिएको तन्त्र धामीझाँक्री संघका केन्द्रिय सदस्य तथा कोशी प्रदेश संयोजक रोषन भेट्वालले जानकारी दिनुभयो ।

यो महिनाभरी गुप्तबास बसेका धामीझाँक्रीका गुरु र देवीदेवता श्रावण शुक्ल पूर्णिमाको दिन धार्मिकस्थलमा गएर नुहाइधुवाइ गरेपछि आफ्ना गुरु तथा देवीदेवता चल्ने मान्यता छ । सोही मान्यताअनुसार धामीझाँक्री जिल्लाको शिवसताक्षी नगरपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल सताक्षीधाम परिषर सम्म पुगेर र्याली तथा भेला को आयोजना गरिएको थियोे ।
महिना दिनसम्म गुप्तवास बसेका धामीझाँक्री सोमबार बिहानदेखि जिल्लाका धार्मिक तथा पर्यटकीयस्थलमा भेला भएका हुन।
धार्मिक तथा पर्यटकीयस्थलमा लाग्ने धामीझाँक्री मेलामा रमिता हेर्ने सर्वसाधारण तथा पूजाआजा गर्ने भक्तजनको समेत बाक्लो उपस्थिति देखिन्थ्यो।
जिल्लास्थित धार्मिक तथा पर्यटकीयस्थलमा शुक्ल पूर्णिमाको अवसर पारेर पूजाआजासहित नुहाउँदा रोगव्याधी हट्नाका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

धामीझाँक्रीहरुद्वारा ढोल, ढ्याङग्रो र झ्याम्टा बजाउँदै दिनभर धामी नाच् स्थल सताक्षीधाममा बूढापाका, युवायुवती तथा केटाकेटी सबैको उल्लेख्य उपस्थिति रहेको थियोे । परापूर्वकालदेखि नै यस ठाउँको पानीले नुहाइधुवाइ गरेमा रोगकष्ट निको हुने जनविश्वास रहिआएको स्थानीय सीताराम खरेलले बताउनुभयो ।कार्यक्रममा झापा, मोरङ, सुनसरी, इलाम, तेह्रथुम जिल्लाका माता, झाँक्रेनी ८४ जना तथा धामी एवम् झाँक्री ५३ गरि १ सय ३७ जना धामीझाँक्री हरुको सहभागीता रहेकोे प्रदेश संयोजक भेट्वालले जानकारी दिनुभयो ।

कार्यक्रममा सताक्षीधाम गेटबाट लामबद्ध भई ब्यानर सहित आ- आफ्नो परम्परा अनुसारका धामीझाँक्री पहिरन लगाई बाजागाजा, ढोल, ढ्यांग्रो, थाल, झ्याम्टा, शंख, घन्टी बजाई निराकार प्राकृतिक देउदेवता को भक्ति गर्न झरना अथवा छाँगा गई धुपबात्ती गरी आफ्नो आफ्नो मन्त्र र ज्ञानको सिद्धिका लागि प्राथन समेत गरिएको थियोे ।
त्यसपछि साकार रुपका शिवलायमा पुगि जल अर्पण गरी अन्दाजी ७ फुटको त्रिशुल स्थापनाका साथमा सहभागी सम्पूर्ण धामीझाँक्री, ओझा, बिजुवा, माताहरुलाई मुख्य व्यवस्थापक अथवा कोशी प्रदेश समन्वय समितिका संयोजक भेटवालले स्वागत गर्नुभएको थियोे ।

कार्यक्रममा अन्तराष्ट्रिय धामीझाँक्रीविद् भोलानाथ बाँस्तोलाले अहिलेको नेपाली समाजमा धामीझाँक्रीको परिभाषा गलत पाईन्छ l यो झाँक्री विद्या भनेको प्रकृतिको स्रोतबाट आर्जन हुने शक्ति वा ज्ञान हो l धामीझाँक्रीले गर्ने परम्परागत उपचार पनि विज्ञान सम्बद्ध नै छ l यो विद्याको खोज अनुसन्धान लेखन व्यापक हुनु पर्नेमा जोड दिदै अहिलेका धामीझाँक्रीमा साधनाको कमी रहेको र त्यसैको परिपूर्ति र झाँक्रीको ज्ञान र शक्तिको नविकरण गर्नका लागि आज विशेष दिनमा झाँक्रीहरुको तिर्थको आयोजना गरिएकोमा खुशी प्रकट गर्नुभएको थियोे l

श्रावण शुल्क पूर्णिमाको अवसरमा धार्मिक एवं पर्यटकीयस्थल सताक्षीधाममा गई पुजा अर्चन गर्न अधिकाश मानिसहरू आ -आफ्नो मनोकाङ्क्षा लिएर विभिन्न ठाउँबाट हजारौँको सङ्ख्यामा दर्शनार्थी पुग्ने गरेका छन् । सोमबार दिनभर धाप परिषरमा नाचगान गरेका धामीझाँक्री बेलुका घर फर्किएर सामूहिक तथा एकल रुपमा देवीदेवताको पूजाआरधानासहित रातभर चिन्ता समेत (ढोलेतालेसहित थान थापेर जबध्यान गर्ने काम) बसेको एक झाँक्रीले बताउनुभयो । त्यस अवसरमा छरछिमेकका स्थानीय बासिन्दाले धामीझाँक्रीको शिर उभ्याउनी (पैसा र रक्सीको कठुवा चढाएर ढोग्ने काम) समेत गर्ने प्रचलन रहिआएको कमलगाउपालिका –४ दिलकुमार राईले बताउनुभयो ।
पछिल्लो समय धार्मिकस्थलहरुको महत्व बढ्दै गएपछि जिल्लास्थित १५ वटै स्थानीय सरकारले आ–आफ्नो क्षेत्रमा पर्ने धार्मिकस्थलको स्तरोन्नति तथा प्रवर्द्धन गरिरहेका छन् ।
सङ्घीयता लागू भएपछि स्थानीय सरकारले धार्मिक तथा पर्यटकीयस्थलको स्तरोन्नति एवं प्रवर्द्धनको काम गरेसँगै अन्य समयमा पनि पूजाआजा गर्ने भक्तजन तथा दर्शनार्थीको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै गएको स्थानीय बासिन्दाहरुले बताएका छन् ।

जिल्लास्थित धार्मिक तथा पर्यटकीयस्थलको स्तरोन्नति एवं प्रवर्द्धन गरेर आन्तरिक आयस्रोत वृद्धि गर्ने स्थानीय सरकारको लक्ष्य रहेको छ । पछिल्लो समय जिल्लाका हरेक स्थानीय तहमा धार्मिक तथा पर्यटकीयस्थलको स्तरोन्नति तथा संरक्षण एवं प्रवर्द्धनको माग बढिररहेको छ । जिल्लास्थित सबै जातजातिका स्थानीय बासिन्दा आ–आफ्नो ऐतिहासिकस्थल संरक्षणमा जुटी रहेको पाईएको छ। कार्यक्रमको सहजीकरण कोशी प्रदेश समन्वय समितिका संयोजक भेटवालले गर्नुभएको थियोे ।