जामुनखाडी पर्यटकीय क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको अवार्ड प्राप्त

ठोस खबर , १८ असोज / झापाको कनकाई नगरपालिका १ र २ मा फैलिएको जामुनबारी सामुदायिक बन तथा जामुनखाडी पर्यटकीय क्षेत्रले विश्व पर्यटन दिवसका आवसरमा शिलगुडिमा हिमालयन हस्पिटालिटी एण्ड टुरिजम डेभलपमेन्ट नेटवर्कले असोज १२ गते शुक्रबार प्रदान गरेको सस्टेनेवल टुरिजम डिस्टीनेशन अफ द इयर अवार्ड सार्वजनिक गरेको छ ।

बन समुहले असोज १८ गते शुक्रबार समुहको सभाहलमा पत्रकार सम्मेलन गरी उक्त अवार्ड सार्वजनिक गरेको हो ।
छैठौं हिमालयन हस्पिटालिटी टुरिजम अवार्ड २०२४ का अवसरमा विभिन्न २४ वटा विधामा पुरस्कार प्रदान गरेको अायोजकले जामुनबारी सामुदायिक बन तथा जामुनखाडी पर्यटकीय क्षेत्रलाई ‘सस्टेनेवल टुरिजम डिस्टीनेशन अफ द इयर अवार्ड २०२४’ प्रदान गरेको हो ।
जामुनखाडीको उक्त पुरस्कार कन्काई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेल , नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट(नाट्टा) कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठ , जामुनबारी सामुदायिक वन उपभोक्ता समिति , जामुनखाडी सिमसार तथा पर्यटकिय क्षेत्रका सचिव दिपक ओली , सल्लाहकार सदस्य अनिरुद्र ओली र अशोक न्यौपानेले संयुक्तरुपमा ग्रहण गर्नु भएको थियो ।

भारतका पश्चिम बंगाल बिहार राज्य नजिक रहेका नेपालका आकर्षक पर्यटकीय गन्तव्यका रुपमा रहेका क्षेत्रलाई विभिन्न मापदण्ड बनाएर एउटालाई छनौट गर्दा जामुनखाडी सामुदायिक बन समुह छनौटमा परेको र
अवार्डका लागी नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्यप्रसाद थपलिया र नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट(नाटा) कोशी प्रदेशका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठले बिशेष पहल गर्नुभएको बन समुहका सचिव दिपक अोलिले जानकारी दिनुभयो ।

पत्रकार भेटघाटमा ‘नेपालको पर्यटन प्रवर्द्धनमा क्रस बोर्डर गन्तव्य महत्वपूर्ण रहेको र यस अवार्डले भारतमा पनि जामुनखाडीको प्रचार प्रसारमा सहयोग पुगेको वनका अध्यक्ष पर्शुराम गीरीले वताउनु भयो ।
उक्त अवार्ड प्राप्तसँगै दुवै देशको पर्यटकीय क्षेत्रका लागि थप सहकार्य गर्न सहज हुने विश्वास गरिएको अध्यक्ष गिरीको भनाई छ ।

पत्रकार भेटघाटमा अध्यक्ष गिरीले केही बर्ष अघिसम्म बन समुहको अवस्था राम्रो भएको र अन्यलाई सहयोग गर्न समक्ष भएको बताउँदै कोभिड महामारी सँगै अवस्था खस्किदै गएको र हाल यहा रहेका बन्यजन्तुको आहारामा समेत समस्या हुदा कतैबाट पनि सहयोग नपाएको बताउनु भयो । उहाले हाल कोशी प्रदेशमा उपयुक्त चिडिया घरको लागि स्थानको खोजी भइरहेको तर यहाँ करिब तयारी अवस्थामा चिडियाखाना भएपनि सम्बन्धित निकायले चासो नदेखाएको भन्दै दुख ब्यक्त गर्नु भयो ।

कूल ४ सय ३४ दशमलव १९ हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन परिसर भित्रको २६ दशमलव ५४ हेक्टर क्षेत्रफलमा जामुनखाडी सिमसार तथा पर्यटकिय क्षेत्र सञ्चालित रहेको छ । यस क्षेत्रमा विभिन्न प्रजातिका वनस्पतिका साथै लोपोन्मुख दुर्लभ वन्यजन्तुहरू चितुवा, भालु , मृग , वदेल , ढेडु , खरायो, हुचिल, अजिङगर , सेतो मुसा , सारस तथा विभिन्न प्रजातिका चराहरूको अवलोकन गर्न सकिन्छ । यहाँ रहेको पोखरिमा पर्यटकको अाकर्षणको लागी झोलुंगे पुलको पनि निर्माण गरिएको र पोखरीमा डुङ्गा शयर समेत गर्न सकिने अध्यक्ष गिरीले वताउनु भयो ।

त्यस्तै विभिन्न प्रजातिका फूलवारीहरु , रमणिय बनभोज स्थल , झुला र बच्चाहरूका विभिन्न प्रकारका खेलहरू पनि यहाको अाकर्षण रहेको छ ।

समितिले चरिचरान बन्द, जामुनखाडी सौन्दर्य , चिडियाखाना स्तरोन्नतिमा पहल , परम्परागत साँस्कृतिक वस्तु संकलन केन्द्र , कोशेली घर सञ्चालन , सिंचाईलाई ब्यवस्थापन लगायतका ९ बुँदे प्रस्ताव समेत अघि सारेको र यि प्रस्ताव लागू गर्नसके यस क्षेत्र करिव करिब पहिलेकै अवस्थामा आउने समेत समितिको अपेक्षा रहेको अध्यक्ष गिरीको भनाई छ ।

पत्रकार सम्मेलनमा बन समुहकी उपाध्यक्ष रेनुका खवास, सल्लाहकार अनिरुद्र ओली, बुद्धिमान बोहोरा लेखा समिति संयोजक रमेशकुमार बारकोटी , कोषाध्यक्ष जीतकुमारी सापकोटा, कार्यलय सचिव अम्बर बहादुर चौहान , कार्यसमितिका सदस्यलगायतको उपस्थिति रहेको थियो ।