विराटनगर , २८ माघ / सरकार र पाथिभरामा केवलकारको विरोध गर्दै आएका पक्ष बिच आइतबार र सोमबारको वार्ता र छलफलबाट कुनै निष्कर्ष ननिस्किएपछि पाथीभरामा निर्माणाधीन केबलकारको विरोध गर्दै पुनः आन्दोलन घोषणा भएको छ ।
केबलकारको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भोका ११ संस्था र १० वटा अन्तर्दलीय राजनीतिक पार्टीले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका हुन् । 

सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरूले माघ २९ गतेदेखि आन्दोलनको घोषणा गरेका छन् । जसअनुसार माघ २९ गतेदेखि फागुन ९ गतेसम्म ग्लोबल आइएमइ बैंकसहित आइएमइ समूहको बहिष्कार गर्ने, फागुन ६ गतेदेखि ८ गतेसम्म मुक्कुमलुङ बचाऔँ पदयात्रा गर्ने,  केबलकारको अनुमति तथा सम्झौता खारेजीका लागि दबाब दिन फुङलिङ नगरपालिकाको कार्यालय घेराउ, केबलकार निर्माण सामग्री ढुवानी नगर्न आग्रह गर्ने, काठमाडौँ, इटहरी र बिर्तामोडमा विरोध सभा गर्नेलगायत छन् । 

यस्तै केबलकारको सम्झौता खारेजीका लागि कोशी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाउने, प्रदर्शन गर्ने पनि उनीहरूले तय गरेका छन् । त्यसपछि अनिश्चितकालीन यातायात बन्द र आमहड्ताल गर्ने उल्लेख छ । सरकार पक्ष वार्तामा इमानदार नभएको उनीहरूको दाबी छ ।