कनकाईमा ७९.०२५ प्रतिशत किशोरीले लाए एचपीभी खोप

चन्द्र बस्नेत , ठोस खबर / झापाको कनकाई नगरपालिकामा ७९.०२५ प्रतिशत किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोगविरूद्वको एचपीभी खोप लगाईएको छ ।
३ हजार ९९ किशोरी रहेको कनकाई नगरपालिकामा २ हजार ४ सय ४९ जना किशोरीलाई खोप लगाएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
खोप लगाउने किशोरीहरुमा विद्यालय जाने कक्षा ६ का ५ सय १७ जना छात्राहरू त्यसैगरी कक्षा ७ देखि कक्षा १० सम्म अध्ययन गर्ने १ हजार ८ सय ८५ जना छात्राहरूले खोप लगाएका छ्न भने विद्यालय नजाने १० वर्षका २ जना र ११ देखि १४ वर्ष सम्मका ४५ जना गरि कुल २ हजार ४ सय ४९ जना किशोरीहरुलाई खोप लगाएको नगर जनस्वास्थ्य निरीक्षक तथा खोपका फोकल प्रर्सन नारायण अधिकारीले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय झापाको समन्वयमा कनकाई नगरमा माघ २२ गतेबाट २८ गते सम्म एचपीभी खोप अभियान सञ्चालन भएको थियो । जसका लागि ३९ खोप केन्द्रमा स्वास्थ्यकर्मी, स्वयम सेवक र सुपरिवेक्षक गरि २ सय खटाएको थियो ।
एक डोज खोपले वयस्क उमेरमा देखा पर्ने पाठेघरको मुखको क्यान्सर रोग रोकथाम गर्न सकिने जनस्वास्थ्य निरीक्षक केशव रिजालको भनाई छ । पाठेघरको मुखको क्यान्सर महिलाहरूलाई लाग्ने क्यान्सरमा विश्वमा चौथो तथा नेपालमा दोस्रो स्थानमा पर्ने तथ्याङ्क रहेको छ । पाठेघरको मुखको क्यान्सरले मृत्यु हुने क्यान्सर पहिलो नम्बरमा छ । यो रोगको लक्षणहरूमा तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, अनियमित रूपमा रगत बग्ने, कमजोरी महसुस हुने, रक्त अल्पता हुने लगायत रहेका छन्।
नगर स्वास्थ्यका सम्पुर्ण कर्मचारी , आम अभिभावक , विद्यालयक शिक्षक -शिक्षिका , जन प्रतिनिधि अन्य कर्मचारी विभिन्न संघ- सस्था लगायतको सक्रियताले पनि यो खोप लगाउने अभियान सफल भएको खोप समन्वय समितिका संयोजक तथा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो । उहाँले कुनै पनि अभियान सफल पार्न एकजना बाट मात्रै सम्भव नहुने भन्दै सबैको सहकार्य भएमा जस्तोसुकै कामहरुपनि सहज ढंगले अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
खोप अभियानका क्रममा प्रत्यक केन्द्रमा अनुगमनलाई समेत तिव्रता दिएको थियोे । अनुगमनमा उपप्रमुख आशाशर्मा शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने , जन स्वास्थ्य निरीक्षक केशव रिजाल , जनस्वास्थ्य निरीक्षक तथा खोपका फोकल प्रर्सन नारायण अधिकारी , सिनियर अनमी टीका दवाडी लगायत रहनुभएको थियो।
