ठोस खबर , ७ चैत्र / कनकाई भेट्रान क्लबको आयोजनामा कनकाईमा जारि वडा स्तरिय भेट्रान फुटवल प्रतियोगितामा वडा नं. ४ सेमिफाइनलमा प्रवेश गरेको छ ।

कनकाई माविको खेलमैदानमा जारी प्रतियोगिताको बिहिवार भएको खेलमा वडा नं. २ लाई १-० गोल अन्तरले पराजित गर्दै वडा नं. ४ सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफ प्रतिष्पर्धात्मक रहेको थियो । दुबै तर्फबाट गोल गर्ने अवसरहरु पाए पनि पहिलो हाफमा कसैले पनि गोल भने गर्न सकेका थिएनन् ।
भेट्रानहरुको रोमान्चक खेलको दोस्रो हाफको १० अौं मिनटमा कनकाई ४ का खेलाडी कैलाश कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यस पछि गोल गर्नै पर्ने दवावमा रहेका २ का खेलाडीले गोल गर्ने निकै अवसर पाउदा पनि गोल गर्न नसके पछि ४ का खेलाडी कैलाश कार्कीले गरेको गोलनै निर्णायक गोल बन्न पुग्यो । यो जित संगै कनकाई ४ सेमिफाइनलमा प्रवेश गरेको छ भने फाईनल प्रवेशका लागि ९ गते शनिवार कनकाई ७ संग प्रतिस्पर्धा गर्ने छ ।

खेलको म्यान अफ दी म्याच कनकाई ४ का खेलाडी मनकुमार साउदेन घोषित भए । उनलाई म्यान अफ दि म्याचको नगद पुरस्कार क्लबका सल्लाहकार ज्योति कुमार उप्रेतीले प्रदान गरे ।

भेट्रान क्लबले “स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” नारासहित आयोजित प्रतियोगितामा २५ बर्ष अगाडि फुटबल खेलेका खेलाडीहरुलाई मैदान उतार्दै निरन्तर खेल सगं जोड्दै आएको क्लबका अध्यक्ष श्यामकुमार राईले वताएका छन । यस प्रतियोगिताबाट कनकाईको नगर स्तरीय भेट्रान टिमको समेत क्षनौट गरिने पनि अध्यक्ष राईले जानकारी गराएका छन ।

नगरको ६ नम्बर बडा बाहेक ८ वटा वडाका टिमले सहभागीता जनाएको प्रतियोगितामा शुक्रबारको खेल वडा नं.५ र वडा नं. ८ बिच हुने क्लबका सचिव रमेश चन्द्रबाबु मैनालीले जानकारी दिएका छन । शुक्रबारको खेलको बिजेताले फाईनल प्रवेशका लागि १० गते आईतवार वडा नं. ३ संग प्रतिस्पर्धा गर्नु पर्नेछ ।

प्रतियोगितामा प्रथम हुनेले नगद २१ हजार र द्वितीय हुनेले नगद ११ हजार रुपैयाँ प्राप्त गर्ने साथै विजेता उपविजेता दुबै टिमलाई ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका कोषाध्यक्ष सन्तोष लिम्बूले जानकारी दिएका छन ।
११ साईटको खेलमा ३५ वर्ष उमेर समुहका बढीमा ४ खेलाडी , ३८ बर्ष उमेर समुहका बढिमा २ खेलाडी र अरु सबै ४० बर्ष भन्दा माथिका खेलाडीको मात्र सहभागिता रहने खेल संयोजक दिलकुमार कार्कीले वताएका छन । प्रतियोगिताको फाईनल चैत्र १२ गते हुने छ ।