कनकाईमा विशेष छुटमा राजश्व संकलन घुम्ति शिविर शुरु

ठोस खबर , ७ चैत्र / झापाको कनकाई नगरपालिकाले विशेष छुटमा राजश्व संकलन घुम्ति शिविर शुरु गरेको छ ।
नगरपालिका भित्रका ब्यवसायीहरुलाई लक्षित गरेर बिहीवारबाट कनकाई–३ सुरुङ्गा बजारस्थित पाथिभरा जेष्ठ नागरिक चौतारीमा शिविर शुरु गरिएको हो ।
शिविरको उद्घाटन नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , उप–प्रमुख आशा शर्मा शिवाकोटी र प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले संयुक्तरूपमा गर्नुभएको थियो ।

शिविर कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले लामो समयदेखि ब्यवसाय नबिकरण गर्न नसकिरहेका ब्यवसायीहरुबाट पुरानो नबिकरण शुल्क छुट गरिदिए नियमित रुपमा ब्यवसाय नवीकरण, दर्ता गरेर चलाउन ईच्छाइएकोले उक्त कुरालाई सम्बोधन गर्दै छुटसहितको घुम्ति शिविर सञ्चालन गरिएको बताउनु भयो ।
घुम्ति शिवरमा सवै नविकरण गर्ने ब्यवसायी र दर्ता गर्नेलाई छुट दिइएकोले समयमै आएर र नयाँ दर्ता गर्न पनि पोखरेलले आग्रह गर्नु भयो ।
नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले उत्पादित फोहोरलाई कार्यपालिका बैठकबनट न्युन शुल्क लिएर व्यवस्थापन गर्ने निर्णयभएको जानकारी गराउदै यसमा सबैले साथ दिन अनुरोध गर्नु भयो ।
यसैगरी नगरका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले सवैले समयमै कर तिरेर स्थानीय सरकार सञ्चालनमा सहयोग गर्न आग्रह गर्नु भयो ।
नगरभित्र विगत लामो समयदेखि नविकरण नगरी सञ्चालन भइरहेका उद्योग, कलकारखाना, ब्यवसायलाई पछिल्लो दुई बर्षको मात्र राजश्व बुझाएर नवीकरण गराउने उदेश्यले घुम्ति शिविर आयोजना गरिएको नगरका जिन्सि शाखा अधिकृत भोजराज आचार्यले जानकारी दिनु भयो । उहाका अनुसार शिविरमा नयाँ ब्यवसाय दर्ता गरिनुका साथै शिविर अवधिभर दर्ता नविकरण गर्दा २० प्रतिशत छुटको ब्यवस्था गरिएको छ भने पछिल्लो २ बर्षको नविकरणको समेत जरिवाना नलाग्ने बताइएको छ ।
शुरुवाती अवस्थामा ७ दिनका लागि शिविर सञ्चालन गरिएको र आवश्यकता अनुसार थप घट हुन सक्ने भोजराज आचार्यले जानकारी दिनुभएको छ ।
शिविरको पहिलो दिन ३९ वटा ब्यवसाय दर्ता र नविकरण भइसकेको र त्यसवापत १ लाख १२ हजार पाचसय चालिस रुपैयाँ राजश्व संकलन भएको आचार्यले वताउनु भएको छ ।