लेखापढी व्यवसायीहरु माथी धरपकड हुदा त्रासको वातावरण श्रृजना भयो

बिर्तामोड , २६ चैत / मेची लेखापढी व्यवसायी संघ झापाले अदालतबाट अड्डा अदालतमा लेखापढी गर्ने प्रमाणपत्र प्राप्त गरी कानुनसम्मत व्यवसाय सञ्चालन गर्दै आएको जनाउँदै धरपकडले गम्भीर अवस्था र त्रासको वातावरण सृजना भएको जनाएको छ ।
यातायात व्यवस्था कार्यालयमा विगत लामो समयदेखि लेखापढी व्यवसाय गर्दै आएका लेखापढी व्यवसायीहरुमाथि भएको धरपकड प्रति संघले गम्भीर चिन्ता प्रकट गरेको छ ।
जिल्ला अदालतबाट अड्डा अदालतमा लेखापढी गर्ने प्रमाणपत्र प्राप्त गरी कानुन सम्मत व्यवसाय सञ्चालन गर्दै आएको भएपनि केही गलत गर्ने ब्यक्तिका कारण ‘बिचौलिया’ भनेको भन्दै संघले आपत्ति जनाएको हो ।
संघले आज (मंगलबार) बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै विगत लामो समयदेखि ठगी गर्दै आएका अनाधिकृत व्यक्ति विशाल भण्डारी कार्यालयको सम्पर्कमा रहेका बेला नै पक्राउ नगर्दा हाल फरार अवस्थामा रहेका र उनी संघको सदस्य कुनैपनि समयमा नरहेको समेत जानकारी गराउँदै उनलाई अविलम्ब पक्राउ गर्न समेत माग गरिएको छ ।
अनाधिकृत व्यक्तिले गरेको अपराधलाई लेखापढी व्यवसायीसँग जोडेर अनावश्यक दोषारोपण हुनुले मर्यादित व्यवसाय गर्दै आएका व्यवसायी माथि आघात पुगेको संघका सचिव इश्वर सुवेदीले बताउनुभयो ।
कानुनी मान्यता प्राप्त लेखापढी व्यवसायीलाई विचौलिया, दलाल जस्ता असभ्य भाषाको सम्बोधन सरकारी निकायबाटै भएको बताउँदै सचिव सुवेदीले सम्मानित अदालतकै गरिमामा आघात पुग्ने गरि यस किसिमका निकृष्ट सम्बोधन नर्गनसमेत आग्रह गर्नुभएको छ।
कानुनको सर्वोच्चतामा ‘दोषी नछुटोस्, निर्दोस नफसोस’ भन्ने मान्यतालाई समेत ध्यानमा राखेर निर्दोस लेखापढी व्यवसायीलाई धरपकड नर्गन र सहज रुपमा काम गर्ने वातारण बनाइदिन संघका अध्यक्ष युवराज निरौलाले सम्बन्धीत निकार्यसँग आग्रह गर्नुभएको छ । सरकारी राजश्व दाखिलाका लागि लाइनमा बसेका सहयोगीलगायतलाई रिहा गरि यस किसिमको धरपकडका श्रृङ्गला वन्द गरिदिन समेत संघले जोडदार माग गरेको छ ।
लेखापढी व्यवसायीमा देखिएको त्रासको वातावरण नहटेसम्म व्यवसाय सञ्चालन गर्ने अवस्था नरहेको जानकारी गराउँदै यसले सेवाग्राहीहरुमा परेको असुविधाप्रति संघले क्षमासमेत मागेको छ ।
सेवाग्राहीकै आग्रहमा कार्य सहजीकरण गर्दै आएको, कसै प्रति कुनै दुर्व्यहवार नगरेको र आगामी दिनमा समेत संघका सदस्यले सेवाग्राहीको आग्रह विना वा इच्छा विपरित कुनै काम नगर्ने, चाहाने सेवा ग्राहीलाई सदैव काम गर्ने तरिका, सम्पर्क स्थान देखाउने चिनाउने गर्दै आएको र यो क्रमलाई निरन्तरता दिने, मर्यादा विपरित करकाप गरे जानकारी गराए त्यस्ता व्यवसायीलाई कार्वाही गर्न, कार्वाही सिफारिस संघ प्रतिवद्ध रहेकोसमेत संघले जनाएको छ ।
केही दिन अघि प्रहरीले यातायायात ब्यवस्था कार्यालय झापा बिर्तामोडबाट ९ जनालाई बिचौलियाको संज्ञा दिदै पक्राउ गरी ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ । ती मध्ये दुई जना लेखापढीका सदस्य रहेको र अन्य सहयोगी रहेको संघले जनाएको छ ।
पत्रकार सम्मेलनमा संघका संस्थापक सचिव केदारकुमार श्रेष्ठ, पुर्व उपाध्यक्ष अभिमाया पौडेल संग्रौला , सदस्य सागर तिवारीलगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो । ब्यवसायीहरुले सोमवारदेखि काम गर्ने वातावरण नरहेको जनाउँदै आ–आफ्नो कार्यालय बन्द समेत गरेका छन् । संघले काम गर्ने वातारण सिर्जना गरिदिन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय झापा र यातायात कार्यालयमार्फत मन्त्रालयलाई पनि सोही विबरणको ज्ञापनपत्र बुझाएको सचिव सुवेदीले जानकारी दिनुभयो । सहयोगी अर्थात कर्मचारी राखेर काम गरेको बताउँदै नियम कानुनले नपाउने भए त्यसको ब्यवस्था गर्न आफुहरु तयार रहेको उहाँहरुको भनाई छ ।
लेखापढी ब्यवसायीले कार्यालय बन्द गरेसँगै यातायात ब्यवस्था कार्यालयमा सेवाग्राहीको भीड बड्दैगएको पाईएको छ ।
