बाल सञ्जालद्वारा कनकाईमा सचेतना मुलक नाटक “चमेलिको कथा” प्रदर्शन

ठोस खबर , १४ बैशाख /झापाको कनकाई नगरपालिकामा बाल अधिकार तथा सामाजिक विकृतिविरुद्ध जनचेतना फैलाउने उद्देश्यले ३ दिने सचेतनामूलक सडक नाटक कार्यक्रम सुरु भएको छ ।
कनकाई नगर बाल सञ्जाल अन्तर्गत सडक नाटक उपसमितिको संयोजनमा, कनकाई नगरपालिका को आर्थिक सहयोग एवं समन्वय र कारितास नेपालको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो । यो अभियान अन्तरगत नाटक नगरका सबै वडामा प्रदर्शन गरिने क्लबका अध्यक्ष विजय तिवारीले वताउनु भएको छ ।

बाल अधिकार तथा सामाजिक विकृतिविरुद्धको सचेतना मुलक नाटक “चमेलिको कथा” को शुक्रबार कनकाई नगरपालिकामा एक कार्यक्रम गरी उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोख्रेलले बालबालिका हाम्रो भविष्य हुन् बाल अधिकारको संरक्षण र विकासमा यस्तो किसिमको सचेतनामूलक कार्यक्रम अत्यन्तै प्रभावकारी हुने भन्दै कनकाई नगरपालिकालाई बालमैत्री नगरपालिकाको रुपमा घोषणा गर्न सबै पक्ष पूरा भई आगामी बैशाख २५ गते सिङ्गो नगरपालिकालाई बालमैत्री घोषणा गरिने योजना भएको बताउनुभयो ।

त्यस्तै कनकाई नगर बालकल्याण अधिकारी उमानाथ ढकालले नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक अधिकारको रूपमा सुनिश्चित गरेको जानकारी गराउदै संविधानको धारा ३९ अनुसार हरेक बालबालिकाले शिक्षा, स्वास्थ्य, पालनपोषण, संरक्षण र व्यक्तित्व विकासका अधिकार पाउने सुनिश्चितता गरिएको तर व्यवहारमा अझै पनि बाल विवाह, बाल श्रम, हिंसा र दुर्व्यवहारजस्ता समस्या व्याप्त रहेको बताउनु भयो ।
यस्ता समस्या अन्त्य गर्न समुदायमै सचेतना फैलाउने कार्यक्रम आवश्यक रहेको र सचेतना मुलक सडक नाटक पनि त्यसको प्रभावकारी माध्यम भएको ढकालले वताउनु भयो । उहाँले भन्नुभयो “कनकाई नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरकोरूपमा घोषणा हुन लागेको छ । यस्तो सचेतनामूलक कार्यक्रमले समुदायमा अधिकारबारे गहिरो समझदारी बनाउनेछ । आज पनि हाम्रो समाजमा बाल विवाह, बाल श्रम, लागू पदार्थको दुरुपयोग र मानव बेचबिखनजस्ता विकृतिहरू छन्। यी समस्याविरुद्ध लड्न हामी बालबालिकाले चुप लागेर बस्न सक्दैनौं। यसैले हामीले आफ्नै आवाज, आफ्नै शैलीमा नाटकमार्फत चेतना फैलाइरहेका छौं ।”
त्यस्तै कनकाई नगर बाल संजालका सचीव समेत रहेका सडक नाटक उपसमितीका कार्यक्रम संयोजक रिजन तिम्सिनाले बाल विवाह, बाल श्रम, लागू पदार्थको लत, महिला हिंसा, मानव बेचबिखन यी हाम्रा समाजका घाउ भएकोले यी घाउहरूमा मलम लगाउन सडक नाटक एउटा ऐना बनेर खडा हुने र जसले समाजलाई आफ्नै अनुहार देखाउने हुनाले बालमैत्री नगर बनाउन यो अभियान एक माध्यम हुने हुदा अभियान सफल पार्न हामी सबैको साझा जिम्मेवारी रहेको वताउनु भयो ।
यस कार्यक्रममार्फत कनकाई नगरपालिकाले बाल अधिकार, लैङ्गिक समानता, मानव बेचबिखनविरुद्धको संघर्ष र समाजमा व्याप्त विभिन्न बालमैत्री असमानता विरुद्धको आवाजलाई सशक्त रूपमा प्रस्तुत गरेको छ । समुदायको सक्रिय सहभागिता, बालबालिकाको सशक्त प्रस्तुति र संस्थागत समर्थनले सडक नाटक कार्यक्रमलाई अझ प्रभावकारी बनाएको छ ।
कनकाई नगरपालिकालाई यही बैशाख २५ गते ‘बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका’को रूपमा घोषणा गर्न लागिएको सन्दर्भमा, यो कार्यक्रम घोषणाअघि समुदायमा चेतना अभिवृद्धि गर्ने , जिम्मेवारी बोध गराउने र सहभागिता निर्माण गर्ने एक सकारात्मक कदमका रूपमा यस नाटकलाई लिइएको छ ।
नगर बाल क्लवकाअध्यक्ष विजय तिवारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद न्यौपाने , बालमैत्री सम्पर्क व्यक्ति जमुना कटुवाल , शिक्षा शाखा प्रतिनिधि रोहित पौडेल , कनकाई नगरपालिका अन्तर्गतका विभिन्न शाखाका प्रतिनिधि , बाल सञ्जाल प्रतिनिधि , सडक नाटक प्रशिक्षक बाल कवि बिनोद भट्टराई , कारितास नेपाल प्रतिनिधि बिवेक शिवाकोटी , सडक नाटक उपसमितिका सदस्यहरूको सहभागी रहेको थियो ।