झापा, २० बैशाख / विश्व प्रेस स्वतन्त्रता दिवसका दिन झापाका राजनीतिक दलहरुले प्रेस स्वतन्त्रताका लागि  पाँच बुँदे प्रतिबद्धता जनाएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा आयोजित ‘प्रेस स्वतन्त्रताका लागि राजनीतिक दलहरुको प्रतिबद्धता’ विषयक अन्तरसम्वादका सहभागीले पाँच बुँदे प्रतिबद्धता जनाएका हुन् ।

अन्तरसम्वाद पछि जारी प्रतिबद्धता पत्रमा नेपाली कांग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डे, नेकपा एमाले झापा अध्यक्ष प्रेम गिरीे, नेकपा माओवादी केन्द्र झापाका अध्यक्ष राजु आचार्य अग्नि, राष्ट्रिय स्वतन्त्र पार्टी झापा सचिव शम्भु सुस्केरा, राष्ट्रिय प्रजातन्त्र पार्टी झापा अध्यक्ष केशवप्रसाद ओझा, नेकपा एकीकृत समाजवादी झापा अध्यक्ष वेदराज रेग्मी, जनता समाजवादी पार्टी झापा अध्यक्ष समर राई, जनमत पार्टी झापा अध्यक्ष भोटलाल राजवंशी, नागरिक उन्मुक्ति पार्टी झापा अध्यक्ष थिरबहादुर खवास र नेपाल कम्युनिष्ट पार्टी इञ्चार्ज सुमन सिंह सिले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सुव्रत न्यौपानेले गर्नुभएको थियो भने सञ्चालन सचिव राजु पाठकले गर्नुभएको थियो । कार्यक्रममा अग्रज एवम् महासंघका पूर्व अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

यस्तो छ पाँच बुँदे प्रतिबद्धता
१) संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको व्यवहारमै कार्यान्वयनका लागि प्रतिबद्ध छौं । साथै प्रेस स्वतन्त्रताको सम्मान , रक्षा र कार्यान्वयनका लागि सरकारसहित सबै सरोकारवालाको ध्यानाकर्षण गराउँदछौं ।

२) राज्यका तीनै तहमा सञ्चार सम्बन्धी कानूनहरु पूर्णरुपमा बनाएर कार्यान्वयन गर्न ध्यानाकर्षण गराउँदछौं । साथै झापाका १५ वटै स्थानीय सरकारलाई एक वर्षभित्र सञ्चार कानून निर्माण र कार्यान्वयन गर्न अपिल गर्दछौं ।

३) २०८१/१२/१५ गते काठमाडौंको तीनकुनेमा भएको पत्रकार सुरेश रजकको हत्याको छानविन गर्न, परिवारलाई क्षतिपूर्ति दिन, घाइते पत्रकारको निःशुल्क उपचार र क्षति पुर्याइएका सञ्चार माध्यमलाई उचित क्षतिपूर्तिको व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउँदछौं ।

४) पत्रकारको क्षमता वृद्धि तथा पत्रकार महासंघको संस्थागत विकास गर्दै मर्यादित र व्यावसयिक पत्रकारिताको विकासका लागि महासंघ र स्थानीय सरकारबीचको सहकार्यमा जोड दिंदै त्यसका लागि राजनीतिक दलहरुको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।

५) झापाका पत्रकारको सामाजिक सुरक्षाका लागि महासंघले स्थापना गरेको पत्रकार सहारा उपचार कोषको वृद्धिका लागि झापाका राजनीतिक दलहरुको तर्फबाट समेत पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै कोषमा सहयोगका लागि सबै पक्षलाई अपिल गर्दछौं ।