कनकाई ५ का २७ जना एकल महिलालाई हलो उपहार

सुरुङ्गा , २४ बैशाख / कनकाई नगरपालिका ५ ले वडाका २७ जना एकल महिलालाई हलो वितरण गरेको छ । वडा परिसरमा बुधबार एक कार्यक्रम गरि हलो वितरण गरिएको हो ।
एकल महिलालाई कृषिमा आत्मनिर्भर बनाउने अभियानलाई वडा कार्यालयले प्राथमिकतामा राखेर हलो वितरण गरिएको वडाध्यक्ष कृष्ण बहादुर राईले वताउनु भएको छ । उहाँले भन्नु भयो “कृषि सामग्री उपलव्ध गराएर हामी महिलाहरूको जीवनस्तर सुधारमा सघाउने लक्ष्यमा छौं । यो कार्यक्रम त्यसकै एउटा सकारात्मक पहल हो ।”
तेस्तै कार्यपालिका सदस्य सावित्रा बर्देवाले एकल महिलालाई अहीले हलो बितरण गरिएको र उहाँहरुले हलो पाए पछि गरेको प्रगति हेरेर अन्य कृषि सामाग्री पनि वितरण गर्न सकिने बताउनु भयो । वडा सदस्य इन्दीरा देबी अधिकारीले एकल महिलाको आर्थिक अवस्था सुदृढ बनाउन कृषि उपकरण वितरण गरिएको बताउनु भयो भने वडा सदस्य डिल्ली उप्रेतीले एकल महिलाहरूले आफैं खेतीपाती गर्न सक्नुहोस भन्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको जानकारी दिनु भयो ।
कार्यक्रममा एकल महिला अध्यक्ष सीता बस्नेतले महिलाको सशक्तीकरणका लागि यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेको धारणा राख्नु भयो ।
कार्यक्रममा सहभागी महिलाहरूले हलो पाएपछि खेतीपाती गर्न सजिलो हुने बताउँदै वडा कार्यालयप्रति आभार व्यक्त गर्नु भयो ।