मनसुन सक्रिय हुँदै , सतर्क रहन आग्रह

काठमाडौं , २५ जेठ / जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले शनिबार बिहान बुलेटिन जारि गर्दै बाढीको सम्भावित जोखिमबारे सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार, आज विशेषगरी कोसी र मधेस प्रदेशअन्तर्गतका जिल्लामा बाढीको जोखिम केही बढी देखिएको छ । पूर्वानुमान बुलेटिनमा इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, धनकुटा, धनुषा, सर्लाही लगायतका जिल्लामा बहने केही ससाना नदीहरूमा पानीको बहाव सतर्कता तहसम्म पुग्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन अनुरोध गरिएको छ।
महाशाखाले जारी गरेको चेतावनीमा भनिएको छ, “देशका केही ससाना नदीहरूमा बहाव सतर्कता तहसम्म पुग्न सक्ने देखिएकोले नदी तटीय क्षेत्रमा रहने समुदायहरू, कृषकहरू तथा जलसँग सम्बन्धित गतिविधिमा संलग्न सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिन्छ।”
त्यस्तै, आगामी तीन दिन (सोमबारसम्म) कोसी, नारायणी, कर्णाली, महाकाली र ती नदीका प्रमुख सहायक नदीहरूका साथै पश्चिम राप्ती र बबई नदीको जलस्तर सतर्कता तहभन्दा तलै रहने अनुमान गरिए पनि यी नदीहरूमा जलस्तरमा उतारचढाव भइरहने भएकाले सामान्य सतर्कता भने अपनाइराख्न सुझाइएको छ।
महाशाखाले थप जनाएको छ कि कन्काई, कमला र बागमती नदीहरूमा पनि बहाव केही बढ्न सक्ने देखिएको छ। त्यसैले ती नदी तटीय क्षेत्रहरूमा विशेष सतर्कता आवश्यक छ।
हाल वर्षा क्रमशः सक्रिय हुँदै गएको र मनसुनपूर्व गतिविधि तीव्र भएको सन्दर्भमा बाढी जोखिम अझै बढ्न सक्ने भएकाले बाढीसम्बन्धी जानकारीमा अपडेट भइरहन, पूर्वतयारी गर्न तथा आवश्यक सावधानी अपनाउन सम्बन्धित निकाय र नागरिकहरूलाई महाशाखाले आग्रह गरेको छ।
यसै सन्दर्भमा, बाढीको जोखिम न्यूनीकरण तथा जनधनको सुरक्षा गर्न स्थानिय प्रशासन, सुरक्षा निकाय, र सरोकारवाला संस्थाहरूको समेत सक्रिय सहयोग आवश्यक रहेको महाशाखाले स्पष्ट पारेको छ।