विनोद सापकोटा , झापा : झापाको शिवसताक्षी नगरपालिका–९ मा रहेको सतासी आधारभूत विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र बहादुर बिकले छुट्टीपछि सिटी सफारी कुदाएर विद्यार्थीलाई घर–घर पुर्‍याउने गरेका छन्। पारिश्रमिक नलिई अतिरिक्त समय खर्च गरेर उनले गरेका यो कामले शिक्षक पेशामा समर्पण र सेवाको नयाँ उदाहरण प्रस्तुत गरेको छ।

विद्यालयमा विद्यार्थी घट्दै गएपछि स्थानीय वडाले झण्डै ३ लाख ५० हजार रुपैयाँ बराबरको सिटी सफारी दिएको थियो। तर त्यसलाई कसले चलाउने भन्ने अन्योल भएको बेला विद्यालयका शिक्षक ओम आचार्यले पहिलोपटक सिटी चलाएर नगरपालिकाबाट स्कुलसम्म ल्याए। सुरुवातमा डर लागे पनि केही बेर अभ्यास गरेपछि उनी सहजै चलाउन थाले। सुरुका केही हप्ता बिहान–बेलुका आचार्यले नै विद्यार्थी ल्याउने–पुर्‍याउने गरे।

एक महिनादेखि भने बिहान विद्यार्थी ल्याउने जिम्मा प्रधानाध्यापक बिकका भान्जाले सम्हालिरहेका छन । जसले दैनिक १०० रुपैयाँ पारिश्रमिक पाउँछन्। बेलुका भने बिक आफैं सिटी कुदाउँछन् र विद्यार्थीलाई घर–घर पुर्‍याउँछन्। उनी भन्छन्, ‘विद्यार्थीको प्रगति र व्यवहारबारे अभिभावकसँग प्रत्यक्ष कुरा गर्न पाउँदा साँचिकै सन्तुष्टि मिल्छ। यस्तो सेवा गर्न पाउँदा जीवन नै सार्थक लाग्छ।’