निजी बिद्यालय हरुको छाता संगठन प्याब्सनले सोमबार कनकाई नगरपालिकामा अनुरोध पत्र बुझाएको छ ।

कनकाई नगरले विगतमा नगर भित्रका बिध्यालय संग गरेका सम्बोधन प्रति आभार व्यक्त गर्दै यसलाई निरन्तरता दिन अनुरोध सहित संस्थागत विद्यालयहरूले भोगिरहेका समस्या, चुनौतीहरू र सुझावहरू समेटिएको औपचारिक अनुरोधपत्र प्याब्सन झापाका अध्यक्ष छत्र बहादुर कार्की र प्याब्सन कनकाईका अध्यक्ष विनोद उप्रेतीले संयुक्तरूपमा कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेल , उपप्रमुख आशा शर्मा शिवाकोटी , प्रशासकीय अधिकृत नारायण न्यौपाने , शिक्षा प्रमुख राजकुमार ओडारी , कार्यपालिका सदस्य कृष्ण माया भुजेल , सामाजिक समिति सदस्य नवल किशोर दत्त समक्ष बुझाउनु भएको हो ।

अनुरोध पत्र बुझाउने क्रममा प्याब्सन झापाका प्राज्ञिक सल्लाहकार अखिल कोइराला , वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठक , सचिव लक्ष्मी प्रसाद उप्रेती , कोषाध्यक्ष अमृत कुमार तिम्सिना , सहसचिव विनोद सुब्बा , सहकोषाध्यक्ष नारायण सुबेदी प्याब्सन कनकाई नगरका सचिव गोकुल उप्रेती , कोषाध्यक्ष विमान लामा , सदस्य रोषन श्रेष्ठ साथै कनकाईका निजि बिद्यालयका सस्थापक प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो ।

अनुरोध पत्र बुझ्दै कनकाई नगरप्रमुख पोखरेलले कनकाईमा सामुदायीक बिद्यालय संगै निजि बिद्यालयलाई समेत हरेक क्रियाकलाप संगसंगै अगाडि बढाउदै गरेको वताउनु भयो । नगर प्रमुख पोखरेल साथै शिक्षा प्रमुख ओडारीले निजि विद्यालयमा भएका केहि समस्याहरुको समाधानका लागी नगरले सक्दो प्रयत्न गर्ने आश्वासन दिनुभयो ।

जिल्ला प्याब्सनले स्थानीय पालिका प्याव्सनसंग समन्वय गरेर १५ बटै पालिकामा अनुरोध पत्र बुझाउने कार्यक्रम अन्तर्गत यस अघि बिर्तामोड नगरपालिका , भद्रपुर नगर पालिका , बाह्रदशी गाउँपालिका र बुद्धशान्ति गाउपालिकामा अनुरोध पत्र बुझाई सकेको र बाँकी पालिकामा निरन्तर बुझाउदै जाने प्याब्सन झापाका अध्यक्ष छत्र बहादुर कार्कीले बताउनु भएको छ ।

यस्तो छ कनकाई नगरपालिकामा प्याब्सनले बुझाएको अनुरोध पत्र

श्रीमान् नगर प्रमुखज्यू
कनकाई नगरपालिका, जामुनबारी झापा ।
विषय : संस्थागत विद्यालयहरूका स्थानीय शैक्षिक समस्या समाधान सम्बन्धमा ।
महोदय,

सर्वप्रथम, संस्थागत विद्यालयहरूको साझा संस्था प्याब्सन झापाको तर्फवाट हजुरहरूलाई हार्दिक अभिवादन गर्दछौ ।
यस कनकाई नगरपालिकाभित्र २३ ओटा संस्थागत विद्यालयहरू छन् । यि विद्यालयहरूको सञ्चालनमा नगरपालिकाले प्रदान गरिरहेको सहजताको निम्ति झापा प्याब्सनको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौं । नगरपालिकाको शिक्षाप्रतिको सकारात्मक दृष्टिकोणले संस्थागत विद्यालयहरूलाई प्रभावकारी र गुणस्तरीय शिक्षा प्रदान गर्न उत्प्रेरणा मिलेको छ । कनकाई नगरलाई शिक्षाको गन्तव्य बनाउन अघि सार्नुभएको नगरको लक्षलाई साकार बनाउन यहाँका संस्थागत विद्यालयहरू सदैव नगरपालिकाको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछौं ।
१ . विद्यार्थीहरू जुनसुकै विद्यालयमा अध्ययनरत भए पनि उनीहरू राष्ट्रका जिम्मेवार नागरिक भएकोले नगरपालिकाले अघि सार्ने कुनै पनि प्रकारका विद्यार्थी लक्षित कार्यक्रममा संस्थागत विद्यालयका विद्यार्थीहरूको पनि समान पहुँच सुनिस्चित गरिदिनुहुन अनुरोध गर्दछौं । यसो गर्नु आर्थिक आवश्यकताले भन्दा पनि भावनात्मक सम्बन्धको लागि गर्नु अनिवार्य छ । उनीहरूले पनि आफूप्रति राज्यको अभिभावकत्व महशुस गर्न सकुन । संस्थागत विद्यालयमा अध्ययनरत विद्याथीको पहुँच राज्यले प्रदान गर्ने छात्रवृत्ति, उच्च अध्ययनका लागि निर्धारित कोटा लगायतका कुनै पनि सुविधामा सुनिस्चित नहुँदा उनीहरू समाज र राज्यप्रति उदासिन हुने खतरा रहन्छ । पछि संस्थागत विद्यालयले राज्यप्रति उदासिन विद्यार्थी उत्पादन गरे भनेर दोषारोपण गर्नुभन्दा पहिले उनीहरूको बाल मनस्थितिमा राज्यले प्रदान गरिरहेको अभिभावकत्वको न्यानोपन महशुस गराउनु जिम्मेवारीपूर्ण र महत्वपूर्ण हुन्छ भन्ने सुझावको रूपमा हाम्रो मत छ ।

२ . संस्थागत विद्यालयहरूले नगर क्षेत्रभित्र शिक्षा, रोजगारी र सामाजिक उत्तरदायित्वमा पुऱ्याउँदै आएको योगदान उल्लेखनीय छ । यस्ता विद्यालयहरूलाई संरक्षण र सामाजिक सुरक्षाको बातावरण निर्माण गर्न नगरपालिकाको तर्फबाट भूमिका निर्वाह गरिदिनुहुन अनुरोध गर्दछौ । शिक्षकहरूको क्षमतावृद्धि र पुनरताजगी अध्ययन, प्रशिक्षण, तालिम, गोष्टी, कार्याशालामा संस्थागत विद्यालयका शिक्षकलाई समेत सहभागी गराइदिनुहुन अनुरोध छ ।

३. कनकाई नगरको भौगोलिक, सामाजिक तथा शैक्षिक सम्भावनाहरूलाई सदुपयोग गरी यो क्षेत्रलाई समृद्ध शैक्षिक गन्तव्य बनाउने दिशामा नगरपालिकाको शैक्षिक नेतृत्व प्रभावशाली छ । कनकाईलाई शिक्षा क्षेत्रमा अब्बल र उदाहरणीय बनाउदै शैक्षिक हबको रूपमा विकास गर्न यहाँका संस्थागत विद्यालयहरूको भूमिकालाई समेत संस्थागत गरिदिनुहुनेछ भन्ने हाम्रो विश्वास छ ।

४. संस्थागत विद्यालयहरू साझा उत्तरदायित्वमा विश्वास राख्दछौं । कनकाईलाई बालमैत्री नगरपालिका घोषणा गरेर बालबालिकाको हितको लागि समर्पित नगरपालिकाको रुपमा प्रस्तुत हुनुभएकोमा खुगी व्यक्त गर्दछौं र अझ उन्नत बालमैत्री नगरपालिकामा विकसित गर्न अघि सार्नुहुने कार्यक्रमहरूमा उत्साहकासाथ सहभागी हुन संस्थागत विद्यालय सदा तत्पर रहने व्यहोरा अनुरोध गर्न चाहान्छौं ।

प्याब्सन झापाले जिल्ला तथा स्थानीयतहरूमा विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । जसमा क्षेत्रकुद, अतिरिक्त क्रियाकलाप, सांस्कृतिक कार्यक्रमहरू तथा शैक्षिक गतिविधिहरू उल्लेखनीय छन् । यस्ता कार्यक्रमहरू विद्यार्थीहरुको समग्र विकासका लागि महत्वपूर्ण हुन्छन् । नगरपालिकाले यहाँ स्थित स्थानीय प्याव्सन समितिलाई अघिल्ला वर्षहरूमा दिएको साथ र सहयोगप्रति हामी आभारी छौं । यस्ता कार्यक्रमलाई अझ व्यापक र प्रभावकारी बनाउन थप सहयोगको अपेक्षा गर्दछौं ।
हाम्रो प्याब्सन झापा जिल्ला समिति जिल्लाका सम्पूर्ण नगर र गाउँ स्थानीय गालिका सरकारसँग भेटघाट गरेर आफ्नो तर्फबाट शिक्षाको गुणस्तर समयानुकुल वृद्धि गर्न प्रतिबद्धता व्यक्त गर्दै, स्थानीय सरकारको मार्गदर्शन सुन्दै र स्थानीय सरकारलाई शैक्षिक उन्नयनको लागि आफ्ना अनुभव अनुसारका सुझाव सुनाउँदै हिंडिरहेकाछौं ।
यही क्रममा कनकाई नगरका संस्थागत विद्यालयहरू संगठित रहेको प्याब्सन कनकाई नगर समितिले आफ्ना केही स्थानीय समस्याहरू समाधानका लागि स्थानीय सरकारसँग अनुरोध गर्नुपर्ने कुराहरू छन् भनेकोले अब नगरका समस्याहरू प्रस्तुत गर्न अनुमति चाहान्छौं ।

१ . नगरपालिकाभित्र सन्चालित संस्थागत विद्यालयहरूको नवीकरण र स्थानीय कर कनकाई नगरपालिकाले जसरी व्यवस्थापन गरेको छ, त्यसले विद्यालयहरूलाई असहजता महशुस भए‌को छ । राज्यले नै हामीलाई कम्पनी ऐन अन्तरगत जानु भनेको हो र हामीले त्यसै अनुरूप नवीकरण र करहरू तिरिरहेका छौं । एक प्रतिशत सामाजिक सुरक्षा कर तिरिरहेका छौं। फेरि मुनाफा शीर्षकमा पनि कर तिरिरहेका छौं । घरबहाल कर, यातायात कर लगायतका विभिन्न नाममा राज्यलाई हामीले ठुलो धनराशीमा कर तिरिरहेका छौं। अहिले राज्यले शिक्षक कर्मचारीको लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्थापन गरेको छ र यसमा पनि निकै ठूलो व्ययभार विद्यालयमा थपिने भएको छ। शिक्षामा राज्यले जति आर्थिक भार थेगेको छ कनकाई नगरको हकमा त्यो ४०% मात्र आर्थिक भार हो, बाँकी ६०% आर्थिक भार हाम्रो व्यक्तिगत लगानी र अभिभावकहरूले तिने शुल्कले थेगेको छ । संस्थागत विद्यालयहरू असहज परिस्थितिबाट गुज्रनुपर्दा स्थानीय शैक्षिक सन्तुलनमा पर्न जाने असरलाई मध्यनजर गर्नुहुन अनुरोध गर्दछौ । स्थानीय सरकारले आफ्नो क्षेत्रमा कर निर्धारण गर्ने र असुल्ने दायित्व र कर्तव्यप्रति समर्थन गर्दै संस्थागत विद्यालय लक्षित करका शीर्षकहरू अरु पनि धेरै रहेकोले हामी माथि लगाइएको नगरपालिकाको करको दरमाथि पुनरमुल्याङ्कन गरिदिनुहुन अनुरोध गर्दछौं। संस्थागत विद्यालयहरूको मूल ध्येय नाफा भन्दा पनि शिक्षा भएकोले मिल्नेसम्म स्थानीय नवीकरण शुल्क मिनाहा गरिदिनुहुन अनुरोध गर्दछौं। नमिल्ने स्थिति हुँदा कर निर्धारण गर्ने आधार कूल आर्थिक कारोवार भन्दा तहगत न्यूनतम वार्षिक सेवाशुल्क निश्चित गर्नु उपयुक्त हुने संशोधन प्रस्ताव राख्न चाहान्छौ। उदाहरणको लागि कक्षा ५ सम्म सञ्चालित विद्यालय रू २००० हजार , आधारभूत विद्यालय रू ३००० हजार , कक्षा १० सम्म सन्चालित विद्यालय रु ४००० हजार र कक्षा १२ सम्म सञ्चालित विद्यालय रू ५००० हजार ।

२ . राज्यले छात्रवृक्तिका निम्ति कोटा निर्धारण गरेको छ। निजी लगानीका विद्यालय भएकोले सञ्चालन सहजताका लागि आफ्नै तरिकाले पनि छात्रवृत्ति दिनुपर्ने बाध्यता रहन्छ। निर्धारित कोटा व्यवस्था भन्दा फरक परिस्थितिले पनि छात्रवृत्ति दिनुपर्ने हुन्छ। आय आर्जनका अन्य तरिका नभएर हुनसक्छ अधिकांश अभिभावक वैदेशिक रोजगारीको भरले छोराछोरी संस्थागत विद्यालयमा पढाउने हुनुहुन्छ । रोजगारीमा समस्या परेपछि लामो समयदेखि बाँकी रहेको शुल्क चुक्ता नगरी विद्यालय छोड्ने अभिभावकको बाध्यताको मार पनि संस्थागत विद्यालयले व्यहोरिरहेको हुन्छ र छात्रवृत्तिको निम्ति छुट्‌याएको बजेटबाट त्यस्तो व्ययभार मिलाउनुपर्ने हुनसक्छ। राज्यले सामुदायिक विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था गरेपनि अभिभावक सहयोगको नाममा शुल्क लिनुपर्ने स्थितिलाई राज्यले मौन सहजता प्रदान गरिरहेको छ। त्यसो नगर्दा ति बिद्यालय चल्न पनि सक्दैनन्। हाम्रो पनि व्यथा त्यस्तै हो। छात्रवृत्ति नियमन गर्ने बेला हाम्रा यस्ता समस्याहरू बुझेर मात्र गरिदिनहुन अनुरोध छ। हामीले प्रदान गरिरहेको राज्यले तोकेको न्युनतम प्रतिशत छात्रवृत्तिको प्रतिवेदन विगतमा झै बुझाइरहने छौ ।

३ . कक्षा ५ अब विद्यालय शिक्षाको कुनै पनि तहको अन्तिम कक्षा नरहेको र कक्षा १० को वार्षिक परीक्षा पनि अब विद्यालय स्तरमै व्यवस्थित गर्नुपर्ने प्रस्ताव भैरहेको अवस्थामा कक्षा ५ को कनकाई नगर स्तरीय वार्षिक परीक्षामा सहभागी हुन हामीलाई अनिवार्य नगरिदिनुहुन अनुरोध गर्दछौं । कक्षा ८ आधारभुत तहको अन्तिम कक्षा भएकोले नगर स्तरीय परीक्षामा हाम्रो उपस्थिति सकृय हुनेछ । उत्तरपुस्तिका लेख्ने भाषा माध्यमको कारणले मुल्याइन व्यवस्थापन सहजताका लागि परीक्षा उपसमिति निर्माण गरेर कपी परीक्षण गर्न प्रदान गरिरहनु भएको व्यवस्थाको निरन्तरताको नागि समेत अनुरोध गर्दछौ ।

४ . कनकाई नगरमा विद्यार्थी संख्याको आधारमा ६०% र विद्यालय संख्याको आधारमा ६२% उपस्थिति निजी क्षेत्रको छ तर नीति निर्माण तहमा यी क्षेत्रको उपस्थिति न्युन छ । शिक्षा समितिको गठनमा सामुदायिक विद्यालय तर्फ प्र.अ. मध्येबाट १ जना, वि. व्य. स. अध्यक्ष मध्येबाट १ जना, शिक्षक महासंघबाट २ जना गरी सामुदायिक तर्फ ४ जनाको उपस्थिति हुँदा संस्थागत तर्फ जम्मा १ जनाको मात्र मनोनयन हुने व्यवस्था छ। संस्थागत विद्यालय तर्फ पनि प्र.अ. मध्येबाट १ जना, वि.व्य.स. अध्यक्ष मध्येबाट १ जना र शिक्षासेवीबाट १ जनाको उपस्थिति हुने व्यवस्था गरिदिनुहुन अनुरोध छ।

५ . स्थानीय विषय कनकाई ज्ञानमालाको सम्पूर्ण पाठ्यपुस्तक तयार भएकोमा खुशी व्यक्त गर्दछौ। गतवर्ष पाठ्यपुस्तक तयार नभएकोले र यो वर्ष शैक्षिक सत्र शुरू भएको दोस्रो महिनामा मात्र बजारमा पुस्तक उपलब्ध भएकोले कठिनाई भएको छ । आगामी वर्षदेखि चैत्र मसान्त भित्र पाठ्‌यपुस्तक पसलहरूमा उपलब्ध हुने व्यवस्था गरिदिनुहुन अनुरोध छ। उचित बजेटको व्यवस्थापन गरी संस्थागत विद्यालयका विद्यार्थीलाई पनि सामुदायिक विद्यालयका विद्यार्थी सरह निःशुल्क पुस्तक वितरण गर्ने वातावरण निर्माण गरिदिनुहुन समेत अनुरोध गर्दछौं ।

अन्त्यमा, आगामी नीति तथा कार्यक्रम निर्माणमा संस्थागत विद्यालयहरूको आवश्यकता, भूमिका र योगदानलाई मनन गरी थप समावेशी र सहयोगी नीति निर्माण गरिदिनु हुन बिनय अनुरोध गर्दाछौं ।

भवदीय,

विनोद उप्रेती, अध्यक्ष
प्याब्सन कनकाई नगर समिति

छत्र बहादुर कार्की , अध्यक्ष
प्याब्नान झापा जिल्ला कार्यसमिति

मितिः २०८२/०३/०२