कनकाई प्रतिभा प्रतिष्ठान द्वारा साहित्य , समाजसेवा र संगीत क्षेत्रका तिन व्यक्तित्व सम्मानित

ठोस खबर ,२५ असार / झापाको कनकाई नगरपालिकामा रहेको कनकाई प्रतिभा प्रतिष्ठानले साहित्य , समाजसेवा र संगीत क्षेत्रमा समर्पित तिन व्यक्तित्वलाई सम्मान गरेको छ ।
प्रतिष्ठानले २१२ अौ भानु जयन्ती साथै मनोजबाबु ( लक्ष्मीप्रसाद) ओलीको स्मृतिमा बुधबार झापाको कनकाई ३ स्थित सुरुङ्गा खानेपानीको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै साहित्य , समाजसेवा र संगित क्षेत्रमा समर्पित ३ जनालाई सम्मान गरेको हो ।

कार्यक्रममा पुत्र वियोगको पीडामा रहेका समाजसेवी , कलाकार अनिरुद्र ओली र नन्दा ओलि दम्पत्तिले छोरा मनोजबाबु ( लक्ष्मीप्रसाद) ओलीको स्मृतिमा हरेक बर्ष स्रष्टा सर्जकलाई पुरस्कृत गर्ने उद्देश्यले कनकाई प्रतिभा प्रतिष्ठानमा स्थापना गर्नुभएको अक्षयकोषबाट साहित्य पुरस्कार , तिलरुपा प्रसाईंलाईको स्मृतिमा तिलरुपाका छोरी ज्वाई सारदा प्रसाईं ओली र गंगाप्रसाद ओलीले घोषणा गर्नुभएको संगीत पुरस्कार र नन्दीकेशर खरेलको स्मृतिमा नन्दीकेशर खरेलका जेठी छोरीका छोरा बुहारी गंगाप्रसाद ओलि र सारदा प्रसाईं ओलिले घोषणा गर्नुभएको समाजसेवा पुरस्कार वितरण साथै सम्मान गरीएको हो ।

मनोजबाबु ( लक्ष्मीप्रसाद) ओली स्मृति साहित्य पुरस्कार २०८२ बाट झापाको झापा गाउँपालिका ६ निवासी विश्वनाथसिंह राजवंशीलाई उहाले शिक्षा, स्वास्थ्य एवं सामाजिक क्षेत्रमा निरन्तर समर्पित भई राजवंशी तथा नेपाली भाषा साहित्यमा पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको छ ।

त्यसैगरी तिलरुपा प्रसाईं स्मृति संगीत पुरस्कार २०८२ बाट दमक नगरपालिका ८ निवासी कमला खनाल रिजाललाई संगीत वाद्यवादन तथा गायन क्षेत्रमा निरन्तर साधनारतरहि नेपाली सांगीतिक फाँटमा पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको छ भने नन्दीकेशर स्मृति समाजसेवी पुरस्कार २०८२ बाट कनकाई नगरपालिका ६ निवासी सामाजिक व्यक्तित्व चिरञ्जीवी उप्रेतीलाई धर्म-संस्कृति , शिक्षा एवं समाजसेवामा तन, मन र धनले निरन्तर समर्पितभई नेपाली समाजमा पुर्याउनु भएको विषेश योगदानको कदर गर्दै सम्मान गरिएको छ ।

सम्मानित तिनैजना व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथी साहित्य चौतारी विर्तामोड झापाका अध्यक्ष देविभक्त श्रेष्ठ , कार्यक्रमका विशिष्ट अतिथि साहित्यकार पुण्य खरेल , कोमल प्रसाद पोखरेल पुरस्कार प्रदानकर्ताहरु अनिरुद्र ओली , नन्दा ओली , गंगा ओली सारदा प्रसाईं ओली , नन्दीकेशर खरेलकी बुहारी पवित्रा खरेल साथै पुरस्कार प्रदानकर्ता परिवारका सदस्य लगायतले जनही नगद १५ हजार सहित दोसल्ला र सम्मान पत्रबाट सम्मान गर्नुभएको छ ।
कार्यक्रम सम्मानित व्यक्तित्वहरुको परिचय विष्णु कोईराला , निर्मल कुमार खतिवडा र अम्बिका महत उप्रेतीले गराउनु भएको थियोे । प्रमुख अतिथि देविभक्त श्रेष्ठ , विशिष्ट अतिथी पुण्य खरेल , पुरस्कार दाताको तर्फबाट गंगा ओली लगायतले बधाई तथा शुभकामना मन्तव्य राख्नु भएको थियोे भने सम्मानित त्रयले धन्यवाद मन्तव्य राख्नु भएको थियोे ।
झापा साथै ईलामबाट समेत साहित्यकार साथै कलाकारहरु, बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि , शैक्षिक एवं सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रममा साहित्यकार तथा कलाकारहरुले विभिन्न साहित्यिक रचना साथै गित समेत प्रस्तुत गर्नु भएको थियोे ।
प्रतिष्ठानका अध्यक्ष जिवनाथ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष डा.पुण्य पौडेलले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको अौचित्य माथि प्रकाश पार्नु भएको थियोे । कार्यक्रम संचालन प्रतिष्ठानका सचिव प्रेम प्रभात न्यौपानेले गर्नुभएको थियोे ।
