कनकाईमा २ सय ८ जनाले धनिपुर्जा पाउने भनिए पनि १ सय ५७ जनाले मात्र पाए जग्गा धनिपुर्जा

ठोस खबर / झापाको कनकाई नगरपालिकामा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा २ सय ८ घर परिवारलाई जग्गाको धनीपुर्जा वितरण गरिने भनिए पनि १ सय ५७ जनाले मात्रै जग्गाको धनीपुर्जा पाएका छन ।
नगरपालिकाका २ सय ८ घर परिवारलाई जग्गाको धनीपुर्जा वितरण गरिने तयारी भएको थियो तर जग्गा धनी पुर्जामा जग्गा धनी २ जनाको नाम फोटो भए पनि धनिपुर्जामा सहिगर्ने कुनै एक जना नभए पछि उनिहरुको तयारी भएको धनी पुर्जा वितरण नगरिएको हो ।

धनिपुर्जा पाउनेमा कनकाई नगरपालिका ३ का २ जना दलित सुकुम्बासी ३६ जना भुमीहिन सुकुम्बासी र ५७ जना अव्यवस्थित बसोबासीहरु गरेर ९५ जना रहेका छन भने कनकाई ६ बाट ११ जना भुमिहिन र ५१ जना अव्यवस्थित बसोबासीहरु गरेर ६२ जना रहेका छन ।
जस मध्ये ५ जनालाई प्रधानमन्त्री ओलिकै हातबाट जग्गा धनिपुर्जा वितरण गरिएको थियोे भने अन्यलाई भुमिसमस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजाल ,भुमिसमस्या समाधान आयोग झापाका अध्यक्ष मदन प्रसाद अधिकारी , प्रमुख मालपोत अधिकृत टिकामणी न्यौपाने , कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , उपप्रमुख आशाशर्मा शिवाकोटी लगायतले धनिपुर्जा वितरण गर्नुभएको थियोे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले भूमिहीन नागरिकले जग्गा पाउनु खुसीको कुरा भएको भन्दै अहिलेको सरकारले मुलुकमा स्थिरता कायम गर्दै जनताको समस्या समाधानमा ध्यान दिइरहेको बताउनु भयो ।प्रधानमन्त्री ओलिले देश विकासको गतिमा अघि बढिरहेको भन्दै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा जनताले स्पष्ट परिवर्तन अनुभव गरिरहेको वताउनु भयो ।
उहाँले जमिन खेर जान नदिई ठूला चाक्ला बनाएर व्यावसायिक खेतीतर्फ लाग्न आग्रह गर्दै अझै ठूला परिवर्तनका लागि सरकारले काम गरिरहेको पनि पनि वताउनु भयो ।

कार्यक्रममा भूमि समस्या समाधान आयोगका अध्यक्ष हरि रिजालले पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म भूमिहीन, दलित र अव्यवस्थित बसोबासीलाई क्रमशः जग्गा वितरण गरिने जानकारी दिनुभयो ।
कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरले २०७४ सालदेखि सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा दलित समुदायका लागि धनीपुर्जा वितरणको कार्यक्रम सञ्चालन गरिदै आएको वताउदै यस अघि एकसय भन्दा धेरै धनीपुर्जा वितरण गरिसकिएको जानकारी दिनु भयो ।

नगर प्रमुख पोखरेलले प्रधानमन्त्री र आयोगका अध्यक्षलाई इङ्कित गर्दै कानुनका जटिलताका कारण तयारी अबस्थामा रहेका धनिपुर्जा समेत वितरण गर्न नसकिएको भन्दै यसमा सहजिकरण गरिदिन अनुरोध समेत गर्नु भयो ।
यता बर्षौ पछि जग्गा धनिपुर्जा पाएपिछ खुशी व्यक्त गर्दै धनिपुर्जा प्राप्तकर्ताहरुले आफु जस्तै धनिपुर्जाको पर्खाईमा रहेका सबैलाई चाडोभन्दा चाडो जग्गा धनिपुर्जा वितरण गर्न समेत अनुरोध गर्नुभएको छ ।
कनकाई नगरमा मात्रै ७ हजार भन्दा वढी भुमिहिन सुकुम्बासी , दलित सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको तथ्यांक छ ।
