ठोस खबर ,२९ असार / झापामा रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सन्चानल गरेको हस्ताक्षर संकलन अभियानमा दमन भएको भन्दै रास्वपा झापाले प्रेस विज्ञप्ति जारि गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कानुन, अदालत र प्रहरीको दुरुपयोग गरी वर्तमान सत्ताले प्रतिशोधपूर्ण व्यवहार गरेको भन्दै त्यसको बिरोधमा २०८२ असार ७ गतेदेखि हस्ताक्षर संकलनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले देश तथा परदेशमा रहेका नेपालीको हस्ताक्षर संकलन गरिरहेको र सोही अभियान अन्तरगत प्रशासनलाई समेत जानकारी दिएर झापामा पनि शान्तिपूर्ण रुपमा निरन्तर अभियान सन्चालन भईरहेको अवस्थामा प्रहरीले गरेको दमनपूर्ण हस्तक्षेपले लोकतन्त्रको धज्जी उडाएको भन्दै रास्वपा झापाका कार्यवाहक अध्यक्ष प्रकाश पाठकले प्रेस विज्ञप्ति जारि गर्दै त्यसको भत्सर्ना गरेका छन ।

विज्ञप्तिमा , अभियान चलिरहेको समय प्रधानमन्त्रीको सवारीका नाममा ०८२ असार २८ गते बुद्धशान्तिमा प्रहरी र आफ्ना कार्यकर्ता प्रयोग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सदस्यहरुलाई नजरबन्दमा राखिनु र २९ गते दमकमा कार्यक्रममा चालु रहेको माइक खोसेर भाँचिदिनु सरकारमा रहेका मानिसले सरकारी संयन्त्रको प्रयोगबाट गरिएको दादागिरी र हस्ताक्षर अभियानबाट डराएको बाहेक अरु के हुनसक्छ ? भन्ने पश्न चिन्ह राख्दै , यसरी सत्ता र शक्तिको उन्मादमा लोकतान्त्रिक अभिव्यक्ति स्वतन्त्रता बिरुद्ध जो कोहीबाट हुने यी र यस्ता गतिविधि कदापी सह्य नहुने जनाइएको छ ।

रास्वपाले जारी गरेको प्रेस विज्ञप्ति जस्ताको तस्तै:

भ्रष्टाचारले जकडिएको बिकृत राजनीति सुधारेर देशमा सुशासन कायम गर्न उदाएको बैकल्पिक राजनीतिक दल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि नै कानुन, अदालत र प्रहरीको दुरुपयोग गरी वर्तमान सत्ताले गरेको प्रतिशोधपूर्ण व्यवहारको बिरोधमा २०८२ असार ७ गतेदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीले देश तथा परदेशमा रहेका नेपालीको हस्ताक्षर संकलन गरेको सर्वविदितै छ । सोही अनुसार झापा जिल्ला समितिले पनि जिल्ला प्रशासन कार्यालयलाई लिखित जानकारी गराएर जिल्लाका विभिन्न स्थानमा दैनिक हस्ताक्षर अभियान सञ्चालन गरिरहेको र नागरिकको उल्लेख्य सहभागिता रहँदै आएको छ। सोही अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी दमक नगर समितिको नेतृत्वमा, केन्द्र, प्रदेश तथा जिल्लाका नेता तथा सदस्यहरुको उपस्थितिमा आज मिति २०८२ असार २९ गते स्थानीय प्रहरीलाई जानकारी गराएरै दमक नगरमा सञ्चालित हस्ताक्षर अभियानमा प्रहरीले गरेको दमनपूर्ण हस्तक्षेपले लोकतन्त्रको धज्जी उडाएको छ ।

एउटा लोकतान्त्रिक मुलुकमा आफ्नो बिचार वा बिद्रोह अभिव्यक्त गर्ने सबैभन्दा शान्त, शालीन र बौद्धिक अभ्यास नै हस्ताक्षर मार्फतको अभिव्यक्ति हो ।

यस्तै अभ्यास र अभियान चलिरहेको समय प्रधानमन्त्रीको सवारीका नाममा ०८२ असार २८ गते बुद्धशान्तिमा प्रहरी र आफ्ना कार्यकर्ता प्रयोग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सदस्यहरुलाई नजरबन्दमा राखिनु र आज कार्यक्रममा चालु रहेको माइक खोसेर भाँचिदिनु सरकारमा रहेका मानिसले सरकारी संयन्त्रको प्रयोगबाट गरिएको दादागिरी र हस्ताक्षर अभियानबाट डराएको बाहेक अरु के हुनसक्छ ?

प्रधानमन्त्रीले आफुलाई एउटा दलको मात्र ठाने, आफू हिँडेको बाटोमा अरु नहिँडन, आफू उभिएको भूमिमा अरुले गतिविधि नगरुन् भन्ने तानाशाही चरित्र आफैले संघर्ष गरेर हासिल गरेको भनिएको लोकतन्त्रको बिरुद्ध मात्र छैन, सुरक्षा सबैका लागि हो भन्ने समान कानुनी अधिकारको खिल्ली उडाएको छ। यसरी सत्ता र शक्तिको उन्मादमा लोकतान्त्रिक अभिव्यक्ति स्वतन्त्रता बिरुद्ध जो कोहीबाट हुने यी र यस्ता गतिविधि कदापी सह्य हुनेछैन ।

प्रतिपक्षको आवाज दबाउन कानुन र संबिधानको बर्खिलाप हुने गरी प्रहरी नै गुण्डा शैलीमा प्रस्तुत हुनु देशको सरकार, त्यसका गृहमन्त्री र सरकार प्रमुखको चरित्रको प्रतिलिपी हो। निर्दिष्ट कानुन अनुसार निर्देशित भएर कार्य सम्पादन गर्नुको सट्टा सत्ताको “हस् हजुर” प्रवृत्तिमा चल्ने यस्ता क्रियाकलापले नेपाल प्रहरीकै साख खस्किरहेकाले यस्ता निर्लज्ज व्यवहार र प्रस्तुति नगर्न नेपाल प्रहरीलाई राष्ट्रिय स्वतन्त्र पार्टी झापा अनुरोध गर्दछ ।

शान्तिपूर्ण बिरोध र अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रका मुख्य आधारशीला हुन्। यसलाई राज्यले संरक्षण गर्नुपर्नेमा राज्यसंयन्त्रकै प्रयोग गरी दमनमा उत्रनु अत्यन्त निन्दनिय र खेदजनक छ । सत्ताको मादमा अन्य लोकतान्त्रिक दलमाथि गरिने यस्ता दादागिरी प्रवृत्तिको रास्वपा झापा घोर भत्सर्ना गर्दै यस्ता कार्यमा संलग्न व्यक्ति र प्रहरी अधिकृतमाथि कारबाहीको माग समेत गर्दछ ।

प्रकाश पाठक
कार्यवाहक सभापति